परिचयः

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहम् योग्यदान रहेको छ । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत जनसंख्या जीविकोपार्जन तथा रोजगारीको लागि कृषि पेशामा आश्रित रहेका छन । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योग्यदान २७ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योग्यदान हरेक वर्ष घट्दै गएको अवस्था छ । कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ५ प्रतिशत रहेको छ । कुल कृषि योग्य जमिन २६ लाख ४१ हजार हेक्टर मध्ये १४ लाख ७३ हजार हेक्टर जमिनमा मात्रै सिंचाई सुविधा पुगेको छ । कुल सिंचित जमिनको ३३ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुने गरेको छ । नेपालको संविधान, २०७२ को धारा ३६ मा मौलिक हकको रुपमा खाद्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने व्यवस्था गरिएको छ भने संविधानको अनुसूचि ८ मा स्थानीय तहको एकल अधिकार सूचि भित्र कृषि क्षेत्र समेत समेटिएको छ ।   

वर्तमान अवस्थाः

नेपालको कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी पद्धतिमा आधारित रहेको छ । कृषि क्षेत्रमा खासै विकास भएको देखिदैन । खाद्यान्नमा हामी अझै आत्मनिर्भर छैनौं । कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता न्यून रहेको छ । कृषि प्रविधिहरुको प्रयोग सीमित मात्रामा हुने गरेको छ । खेती गरिएका अधिकांश क्षेत्रमा अन्नबाली लगाइए पनि कृषि क्षेत्रमा खाद्य व्यापार घाटा बढ्दै गएको छ । उन्नत नश्ल  तथा बीउ बिजनको प्रतिस्थापन दर पनि अत्यन्तै कम छ । दुध प्रशोधन, कुखुरापालन, चिया, तरकारी, फलफुल र माछापालनमा उत्साहजनक संकेतहरु देखिन थालेका छन् । नेपालको संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ तर पनि कृषिजन्य उत्पादनमा आशातित उपलब्धि हासिल हुन सकेको छैन् । कृषि क्षेत्रमा न्यून बजेट बिनियोजन गर्नु वा प्राथमिकतामा नपर्नु, स्थानीय स्रोत, साधन र उपलब्धताको आधारमा कृषि सम्बन्धी अध्ययन अनुसन्धान, सर्वेक्षण नहुनु, पूर्वाधार विकास भित्र कृषि पूर्वाधारलाई नसमेटिनु, कृषिमा अनुदानको व्यवस्था नहुनु वा अनुदान वितरण प्रणाली प्रभावकारी नहुनु, स्थानीय तहमा कृषि सम्बन्धी नीति, नियम, योजनाको अभाव हुनु वा निर्माणमा ढिला सुस्ती हुनु, कृषि बिमामा साना तथा मझौला किसानको पहुँच नहुनु, कृषि पूर्वाधारको कमी हुनु, दक्ष जनशक्तिको अभाव हुनु, सिंचाई प्रणालीको विकास तथा विस्तार नहुनु आदि जस्ता मुख्य आधारभूत कुराहरुमा स्थानीय तहको ध्यान नपुग्नु वा प्राथमिकतामा नपर्नुले पनि कृषि क्षेत्रको समुचित विकास नभएको देखिन्छ ।

अबको बाटोः

कृषि क्षेत्रको विकासको लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औधोगिकीकरण गर्नु अपरिहार्य देखिन्छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषि उपजमा आत्मनिर्भर भई राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन स्थानीय तहहरुले निम्न कुराहरु प्राथमिकतामा राखी नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने देखिन्छः

१. कृषि विकास योजनाः कृषि क्षेत्रको समुचित विकास गर्न, कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योग्यदानमा बृद्धि गर्न, कृषिमा रोजगारी सृजना गर्न, कृषिमा आश्रित परिवारको गरिबी न्यूनीकरण गर्न, खेती योग्य जमिनको अधिकतम उपयोग गर्न तथा परम्परागत, निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, व्यवसायिक, उत्पादनमुखी कृषि प्रणालीमा रुपान्तरण गर्न हावापानी र भौगोलिक परिवेशको आधारमा सम्भव्यता अध्ययन, अनुसन्धान, सर्वेक्षणको आधारमा कृषि विकास योजना तर्जुमा गरी सोही बमोजिम कृषि क्षेत्रलाई अगाडी बढाउनु पर्ने देखिन्छ ।

२. कृषि पूर्वाधारः कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि उपयुक्त पूर्वाधारहरुको विकास तथा विस्तार गर्नु आवश्यक हुन्छ । कृषि पूर्वाधारहरू जस्तैः सिंचाइ, सडक, कृषि हाट बजार, शीत घर, शीत भण्डार, गोदाम घर, चिस्यान केन्द्र, संकलन केन्द्र, प्रशोधन केन्द्र, प्रयोगशाला (माटोको उर्बराशक्ति परीक्षण) आदि पूर्वाधारहरुको विकासले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उल्लेख्य सहयोग गर्छ । हावापानी तथा जलवायुमा भएको परिवर्तनले समयमा वर्षा हुने निश्चित हुदैन् । परिणामस्वरुप कृषिमा गरिएको लगानी अनुसारको उत्पादनमा कमी आउँछ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सिंचाईको वैकल्पिक उपायहरु जस्तैः डिप ट्युवेल, कृषि विधुतीकरण, डिजल वा सोलार पम्पसेट आदि को प्रयोग गरी कृषि क्षेत्रको उत्पादन बढाउनु पर्ने देखिन्छ ।

३. कृषि अनुदानः कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषिमा अनुदान दिने नीति अवलम्बन गर्नु पर्ने देखिन्छ । स्थानीय तहमा बढी उत्पादन गर्ने कृषकको मनोबललाई उच्च राख्न तथा अरु कृषकलाई पनि कृषि पेशामा समेत आकर्षित गर्न कृषि अनुदान उपलब्ध गराउनु पर्छ । हावापानी तथा भौगोलिक परिवेश अनुसार बाली, पशुपन्छी, फलफूल, तरकारी तथा माछा लगायत अन्य कृषि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा पहिचान तथा विकास गरी कृषकलाई आवश्यक पर्ने उत्पादन सामग्रीहरू, कृषि यन्त्र, उपकरण, मेसिनरी, औजार, मलखाद, विषादी, उन्नत बिउ, बिजन, सोलार पम्प, ईलेक्ट्रिक मोटर, स्प्रेयर आदि स्थानीय तहले अनुदानमा उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ । प्रतिस्पर्धी व्यावसायिक योजनाको आधारमा प्रतिफलमुखी कृषि उद्यम व्यवसायको अनुदानमा समेत जोड दिनु आवश्यक छ ।

४. कृषि बिमाः कृषि बीमामा कृषकहरुको सहज पहुँच पुगेको देखिदैन् । बाढी, पहिरो, सुख्खा, असिना, शीतलहर, जनावर आतंक जस्ता प्रकोपहरुका कारण धान, गहुँ, मकै, तरकारी, फलफुल, माछा, कुखुरा लगायत अन्य कृषिजन्य उत्पादनहरुमा हुने जोखिममा कमी ल्याउन बिमा आवश्यक रहेको छ । कृषकहरुलाई कृषि बिमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्नुको साथै कृषि बिमामा सहज पहुँच कायम गर्ने तर्फ ध्यान दिनु पर्छ । कृषि उत्पादन सामग्रीहरू, कृषि यन्त्र, उपकरण, मेसिनरी, औजार, मलखाद विषादी, उन्नत बिउ बिजन सिंचाइ आदि को बिमा प्रिमियममा लागत सहभागिताको आधारमा अनुदान दिने नीति अवलम्वन गर्नु आवश्यक रहेको छ ।

५. मूल्य श्रृंखलाः मूल्य श्रृंखलाले उत्पादन, प्रशोधन र बजारीकरणको सम्पूर्ण प्रणालीलाई समेट्ने गर्छ । स्थानीय स्तरमा हुने कृषि उत्पादनहरुको मूल्य श्रृंखला निर्माण र विकासमा समेत स्थानीय तहले ध्यान दिनु पर्ने देखिन्छ । कृषि क्षेत्रको लगानीलाई सुनिश्चत गर्न मूल्य श्रृंखला अपरिहार्य रहेको देखिन्छ । कृषि सामग्री आपूर्तिकर्ता (बिउ बिजन, मलखाद, विषादी, मेशिन, औजार), कृषक, व्यापारी (आयातकर्ता, निर्यातकर्ता, खुद्रा तथा थोक व्यापारी), प्रशोधनकर्ता (कलकरखाना, उद्योग), सेवा प्रदायकहरु (बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी महासंघ, कृषक संघ संगठन लगायत अन्य व्यावसायिक सेवा प्रदायक) लगायत मूल्य श्रृंखलाका अन्य कर्ताहरु बिचको सञ्जाललाई सबल, सक्रिय र पहुँच योग्य बनाउनु पर्छ ।

निश्कर्षः

स्थानीय सरकारले स्थानीय स्रोत-साधन र सामग्रीहरूको उपलब्धतताको आधारमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषिजन्य उत्पादन वृद्धि हुने खालको नीति तथा योजना अंगीकार गर्नु पर्ने देखिन्छ । उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न कृषि सहकारी वा कृषक समूहको अवधारणा अंगिकार गर्दै कृषि पकेट क्षेत्रहरुको विकास गरी कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी रूपान्तरण गर्नु आवश्यक छ । कृषि पेशालाई सम्मानजनक, मर्यादित बनाई कृषिमा आश्रित परिवारहरुको जीविकोपार्जन गर्न, गरिबी नयूनिकरण गर्न तथा रोजगारी सृजना गरी आर्थिक वृद्धि हासिल गर्न सघाउने खालको कृषि अध्ययन, अनुसन्धान सर्वेक्षण गर्न स्थानीय सरकार अग्रसर हुनु पर्छ ।

मिति २०७७ बैशाख २० गते, शनिवारका दिन प्रशासन डट कममा प्रकाशित