जनसाङ्ख्यिक लाभ भन्नाले जनसङ्ख्याको उमेर संरचनामा आउने परिवर्तनका कारण प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनाउँछ । जब कुनै देश वा प्रदेशमा आश्रित जनसङ्ख्याको अनुपात घट्न जान्छ र उत्दपादनशील उमेर समूहको जनसङ्ख्या बढ्छ तब उत्पादनशीलता, बचत, लगानी र आर्थिक वृद्धिको अवसर सिर्जना हुन्छ, यसै अवस्थालाई जनसाङ्ख्यिक लाभ भनिन्छ । इतिहासको एउटा निश्चित कालखण्डमा मात्र खुल्ने यो अवसरको झ्याल हो । यो अवस्था स्थायी रुपमा सधै भरि रहदैन् । अहिले नेपाल जनसाङ्ख्यिक लाभको अवस्थामा रहेको र यो अवस्था वि.सं. २१०८ सम्म रहने अनुमान छ ।

मुलुकको कुल जनसंङ्ख्याको २१ प्रतिशत हिस्सा मधेश प्रदेशमा छ । जसमध्ये पुरुष र महिलाको जनसङ्ख्या क्रमशः ५०.१ र ४९.९ प्रतिशत रहेका छन् । मधेशमा बालबालिका, काम गर्ने उमेर समूह र वृद्धवृद्धाको जनसङ्ख्या क्रमशः ३३.२, ६०.५ र ६.३ प्रतिशत रहेका छन् । मधेशमा राष्ट्रिय औषतभन्दा बालबालिकाको जनसङ्ख्या ५.४ प्रतिशत बढी, काम गर्ने उमेर समूहको कुल जनसङ्ख्या ४.७ प्रतिशत कम र वृद्धवृद्धाको जनसङ्ख्या ०.६ प्रतिशतले कम रहेको छ । मधेशको जनसङ्ख्या वृद्धि दर १.१९ प्रतिशत रहेको छ । यो नेपालको औषत जनसङ्ख्या वृद्धि दरभन्दा ०.२७ प्रतिशतले बढी छ । मधेशको जनसाङ्ख्यिकीय लाभांश सूचकाङ्क ६५ रहेको छ भने बुढयौली सूचकाङ्क १९ रहेको छ ।

मधेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । जसमध्ये पुरुष र महिलाको साक्षरता दर क्रमशः ७२.५ र ५४.७ प्रतिशत रहेको छ । नेपालको औषत साक्षरता दरभन्दा मधेशको साक्षरता दर १२.७ प्रतिशतले कम छ । मधेशमा गरिबी र बेरोजगारी दर क्रमशः २२.५३ र २०.१ प्रतिशत रहेका छन् । यो राष्ट्रिय औषत दरभन्दा क्रमशः २.२६ र ८.७ प्रतिशतले बढी छ । मधेशबाट वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्या पनि उच्च रहेको छ । यसले मधेशको शैक्षिक अवस्था र पहुँच एवम् गुणस्तरीय शिक्षाको अभावका कारण श्रम बजारमा प्रतिस्पर्धा गर्ने क्षमताको कमी रहेकोले रोजगारी प्राप्त गर्न कठिनाई भोग्नु परिरहेको छ । तसर्थ शिक्षा र रोजगारीको अभावमा मधेशका मानिस गरिबी र बेरोजगारीको अवस्थामा जीवन व्यतित गर्न बाध्य भई वैदेशिक रोजगारी रोज्नु पर्ने बाध्यात्मक अवस्था छ ।

नेपालको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १५१३ अमेरिकी डलर रहेको छ भने मधेशको ९३४ अमेरिकी डलर मात्र रहेको छ । यो राष्ट्रिय औषतभन्दा ५७९ अमेरिकी डलर कम हो । नेपालको औषत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च १३०८५३ रुपैयाँ रहेको छ । जबकी मधेशको ८६८८४ रुपैयाँमात्र रहेको छ । यो राष्ट्रिय औषतभन्दा ४३९६९ रुपैयाँले कम छ । यसले देशको कुल अर्थतन्त्रमा मधेशको योगदान र आम्दानीको स्तर एकदमै कमजोर रहेको देखाउँछ । त्यस्तै मधेशका व्यक्तिहरुको पर्चेजिङ्ग पावर पनि कम रहेको स्पष्ट देखिन्छ । जसको परिणामस्वरुप मधेशका व्यक्तिहरुले शिक्षा, स्वास्थ्य, पोषण, आवास जस्ता आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्न पर्याप्त खर्च गर्न सकिरहेका छैनन् । यसले नेपाल र मधेश प्रदेशको औषत आम्दानी र उपभोग खर्च बीचको अन्तर र प्रभावलाई उजागर गरेको छ ।

मधेश नेपालको सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो । यहाँ उत्पादनशील उमेर समूहको ठूलो जनसङ्ख्या र श्रमशक्तिको प्रचुर उपलब्धता, उर्बर कृषि भूमि एवम् उत्पादन क्षमता, सांस्कृतिक विविधता र सीमापार व्यापारको प्रशस्त सम्भावना रहेको छ । गुणस्तरीय शिक्षाको कमी, सीमित रोजगारीका अवसर, गरिबी, उच्च युवा बेरोजगारी, अनौपचारिक श्रम बजारको प्रभुत्व, वैदेशिक पलायन, कमजोर औधोगिकरण, शिक्षा र सीप बिचको असन्तुलन, अपर्याप्त सीप विकासका अवसर, सामाजिक असमानता, पूर्वाधारमा पहुँच र बजार सञ्जालको कमी, उत्पादनशील क्षेत्रहरूको विकास एवम् विस्तारमा उदाशीनता, लगानी तथा उद्यमशीलताको अभावका कारण उपलब्ध जनसाङ्ख्यिक लाभको पूर्ण उपयोग हुने सकेको छैन् ।

युवा जनशक्ति आर्थिक रुपान्तरणको प्रमुख संवाहकको रुपमा रहेका हुन्छन् । राज्यले उत्पादनशील उमेर समूहको जनशक्तिलाई बजारमुखी सीपसंग जोड्न सकेमा मधेशमा ठूलो मात्रामा स्वरोजगार हुने सम्भावना छ । विप्रेषणले स्थानीय उत्पादन प्रणालीलाई कमजोर बनाएको छ । वैदेशिक रोजगारीबाट प्राप्त पूँजी, प्रविधि, सीप, अनुभवलाई परिचालन गरी सिथिल भएको उत्पादन क्षेत्रलाई पुनः जागृत गर्नु पर्छ । जसको परिणाम स्वरुपमा उत्पादन एवम् आयआर्जनका अवसरहरुमा वृद्धि, वैदेशिक पलायनमा कमी, रोजगार प्रवर्द्धन र अर्थतन्त्रको विस्तारमा उल्लेखनीय सहयोग पुग्नेछ ।

जनसाङ्ख्यिक लाभको अवस्थाले आर्थिक समृद्धिको आधारशिला तयार गर्दछ । जसको प्रत्यक्ष प्रभाव श्रम बजारमा देखिन्छ । जब जनसाङ्ख्यिक संरचनामा आश्रित जनसङ्ख्याको तुलनामा उत्पादनशील उमेर समूहको हिस्सा बढी हुन्छ तबमात्र अर्थतन्त्रलाई मजबुत बनाउने विशेष गति प्राप्त हुने गर्दछ । परिवारमा कमाउने सदस्य धेरै र आश्रित सदस्य थोरै हुदाँ आश्रित सदस्यहरुको पालनपोषण एवम् स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउँछ र बचत गर्ने क्षमतालाई बढाउँछ । यहि व्यक्तिगत बचतको परिणामस्वरुप पारिवारिक, प्रादेशिक र राष्ट्रिय बचतमा वृद्धि हुन्छ । तसर्थ उर्जावान, गतिशील र कर्मशील श्रमशक्तिहरुको उपलब्धताले कृषि, पर्यटन, यातायात, उद्योग, सूचना प्रविधि र सेवा क्षेत्रको विकास, विस्तार एवम् रुपान्तरणमा ठूलो मद्दत पुग्नेछ भने राष्ट्रिय उत्पादनलाई द्रुत गतिमा वृद्धि गर्न अहम् योगदान गर्नेछ ।

मधेशलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सूचना प्रविधि र औधोगिक क्षेत्रको हबको रुपमा विकास गर्न सक्ने प्रशस्त अवसर र सम्भावना दुबै रहेको छ । त्यसका लागि शिक्षा र सीपलाई श्रम बजारसंग जोड्न एकदम आवश्यक छ । शिक्षाले भविष्यमा श्रम बजारको माग अनुसारको जनशक्ति तयार गरी आपूर्ति गर्ने आधार तयार गर्दछ भने सीपले श्रम बजारको मागलाई तत्काल सम्बोधन गर्न सघाउँछ । तसर्थ जनसाङ्ख्यिक लाभको यो अवस्थालाई दीर्घकालीन रुपमा सदुपयोग गर्न शिक्षा र सीप महत्वपूर्ण आधार क्षेत्रको रुपमा रहेका छन् । त्यसैले विद्यालय बाहिर रहेको बालबालिकाहरुलाई विद्यालय शिक्षाको मूलधारमा ल्याईनु पर्दछ । उच्च शिक्षाबाट बञ्चित भएका वा विद्यालय छाडेका विद्यार्थीहरुलाई व्यवसायिक तथा प्राविधिक सीप विकास तालिमको माध्यमबाट दक्ष एवम् उत्पादनशील जनशक्ति तयार गरी सूचना प्रविधि, पर्यटन, यातायात, सेवा क्षेत्रमा परिचालन गर्नु पर्दछ ।

युवा श्रमशक्तिहरुलाई रोजगारी, उद्यमशीलता र आर्थिक अवसरसँग जोड्नु पर्दछ । रोजगारी वा आर्थिक विकासका क्रियाकलापहरुमा आबद्ध गर्न दक्ष, सीपयुक्त, व्यवसायिक र उत्पादनशील जनशक्ति तयार गर्नु मधेश सरकारको पहिलो प्राथमिकता हुनु पर्दछ । राज्यले वर्तमान जनसाङ्ख्यिक लाभको अवस्थालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न औधोगिक एवम् डिजिटल पूर्वाधार विकास, पूर्वाधारमा पहुँच विस्तार, उद्यममशील वातावरणको निर्माण, नवप्रवर्तन प्रवर्द्धन, बजार सञ्जालको विकास एवम् विस्तार तथा रोजगारमैत्री कार्यक्रममार्फत स्थानीय उत्पादन प्रवर्द्धनमा केन्द्रित हुनु पर्दछ । यदि जनसाङ्ख्यिक लाभको वर्तमान अवस्थालाई उपयोग गर्न सकिएन भने भविष्यमा गरिबी, बेरोजगारी, वैदेशिक पलायन र द्वन्दजस्ता सामाजिक समस्याहरुको प्रमुख कारण बन्न सक्छ ।

जनसङ्ख्याको आधा हिस्सा ओगटने महिला श्रमशक्तिहरुलाई आर्थिक रुपमा सक्रिय एवम् श्रम बजारमा प्रवेश गर्न सक्ने योग्य बनाउनु पर्दछ । महिला श्रम सहभागिता बढाउने नीति तथा आर्थिक सशक्तीकरणका कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्दछ । जब महिलाहरु पुरुष सरह आर्थिक रुपमा सक्रिय र श्रम बजारमा प्रवेश गर्न सक्ने हुन्छन् तब उत्पादन क्षमता दोब्बर भई अर्थतन्त्रलाई मजबुत बनाउँछ ।

मधेश प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा रहेको कृषिलाई उद्योगसंग जोड्नु पर्दछ । उद्योगको लागि कच्चा पदार्थ उत्पादन गर्ने प्रशोधन केन्द्रहरुको स्थापना गर्नु पर्दछ र सोसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक क्षमता विकास गरी श्रमशक्तिहरुलाई परिचालन गर्नु पर्दछ । भविष्यमा अर्थतन्त्रको मुख्य आधार क्षेत्रको रुपमा सूचना प्रविधि एवम् डिजिटल क्षेत्र रहने सम्भावना देखिदैछ । यस क्षेत्रमा बहुसंख्यक रोजगारीका अवसरहरु सिर्जना हुने भएकोले युवा श्रमशक्तिहरुलाई डिजिटल क्षेत्रमा आबद्ध गर्न सम्भावित सीपहरुको विकास गरी श्रम बजारमा हस्तक्षेप गर्न पूर्व तयारीमा केन्द्रित हुनु पर्दछ ।

युवाहरुलाई नयाँ नयाँ पेशा व्यवसायहरुको शुरुआत गर्न युवा पुनर्जागरण तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नु पर्दछ । स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत व्यवसाय विकासमा सहजीकरण र व्यवसायिक परामर्श प्रदान गर्न संवर्द्धनात्मक सेवा सञ्चालन गर्नु पर्दछ । जब युवा वर्ग रोजगारी वा स्वरोजगारीमा आबद्ध हुन्छ तबमात्र युवाहरुको हातमा पर्चेजिङ्ग पावर पुग्छ । आर्थिक रुपमा सबल र सक्षम युवा जमातले बजारमा नयाँ नयाँ वस्तु तथा सेवाहरुको माग बढाउँछ । अनिमात्र शिक्षा, स्वास्थ्य, पर्यटन, डिजिलट प्रविधि, घरजग्गा, यातायात, मनोरञ्जनका क्षेत्रहरु लगायत अन्य विभिन्न क्षेत्रहरु तीब्र गतिमा फस्टाउँछ । यसले स्वदेशी उद्योगहरुको प्रवर्द्धन र विकास भई आत्मनिर्भर अर्थतन्त्र बन्न मद्दत पुग्छ । 

कृषि, उद्योग र निर्माण क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने भएकोले युवा श्रमशक्तिहरुलाई यी क्षेत्रहरुमा आबद्ध गर्न औधोगिक पूर्वाधार विकास, बजार विस्तार एवम् औधोगिकरण र सोसंग सम्बन्धित सीप विकासमा जोड दिनु पर्दछ । मधेशमा उपलब्ध जनशक्तिहरुलाई उत्पादनमूलक क्षेत्र एवम् पूँजी निर्माणमा परिचालन गर्नु पर्दछ । जसले आयात प्रतिस्थापन, निर्यात वृद्धि र रोजगारीका अवसरहरु सिर्जना भई स्थानीय अर्थतन्त्रको सुदृढीकरण एवम् सबलीकरणमा सहयोग पुग्नेछ ।

सेवा क्षेत्र विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो रोजगारीको हबको रुपमा रहेको छ । नेपालमा पनि सेवा क्षेत्र रोजगारीको मुख्य स्रोत नै हो । श्रम बजारका उदीयमान रोजगारीका क्षेत्र एवम् अवसरसंग मेल खाने गरी जनशक्ति विकास गर्नु पर्दछ । मधेशका श्रमशक्तिहरुलाई पर्यटन, होटेल, यातायात, ई-कमर्श, डिजिटल मार्केटिङ्ग, फ्रिलान्सिङ्ग र आउटसोर्सिङ्ग लगायत अन्य विभिन्न सेवा क्षेत्रको रोजगारीमा आबद्ध गरी आर्थिक रुपान्तरणमा परिचालन गर्न ढिला गर्नु हुदैन् । तसर्थ सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता विकास र उत्पादनमूलक क्षेत्रहरुलाई प्राथमिकतामा राखी विकासका गतिविधिहरुलाई अगाडी बढाइयो भने मधेश प्रदेशलाई नेपालको आर्थिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ ।

अहिले मधेश सामु उत्पादनशील जनशक्तिहरुलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न ठूलो चुनौती रहेको छ भने मधेशलाई समृद्ध बनाउन पर्याप्त सङ्ख्यामा श्रमशक्तिहरुको उपलब्धता रहेको छ । आगामी दुई दशकभित्र यी श्रमशक्तिहरुलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिएन भने मधेश समृद्ध हुनु अघि नै जनसाङ्ख्यिक लाभको अवस्थाबाट बाहिरिने र वृद्ध समाजमा परिणत हुने जोखिम छ । जसले मधेशलाई गरिबी, बेरोजगारी, कुपोषण लगायत आर्थिक संकटको दुष्चक्रमा पार्नेछ ।

जनसाङ्ख्यिक लाभको यो अवस्थालाई अधिक प्रतिफलमुखी बनाउन राज्यले दश वर्षे जनसाङ्ख्यिक लाभ र आर्थिक समृद्धि गुरुयोजना र उत्पादनमूलक क्षेत्रमा विप्रेषण परिचालन सम्बन्धी रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्नु पर्दछ । हुलाकी सडक करिडोरमा एग्रो-इन्डस्ट्रियल एरियाको स्थापना र सीमावर्ती औधोगिक क्षेत्रको विकास गर्नु पर्दछ । डिजिटल मधेशको शुरुआत, कृषि क्षेत्रको रुपान्तरण, पर्यटन क्षेत्रको विकास, नवप्रवर्तन प्रवर्द्धन र स्टार्टअप फण्डको सुनिश्चितता, एकीकृत सीप विकास तथा श्रम बजारमैत्री नीति तथा कार्यक्रमको माध्यमबाट स्वदेशमै उत्पादनमूलक क्षेत्रमा श्रमशक्तिहरुलाई परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न पहल गर्नु पर्दछ । समग्र मधेशको विकासलाई गतिशिलता प्रदान गर्न मधेश विकास प्राधिकरण र श्रमशक्तिहरुको समुचित परिचालन गर्न प्रदेश रोजगार परिषदको स्थापना अपरिहार्य रहेको छ ।

मिति २०८३ जेठ ३१ गते रातोपाटीमा प्रकाशित

Categorized in:

Publication,

Last Update: September 30, 2026