नेपालको कुल जनसंख्याको २१.१ प्रतिशत जनसंख्या कुल क्षेत्रफलको ६.६ प्रतिशत क्षेत्रफल अर्थात मधेश प्रदेशमा बसोबास गर्दछ । यस हिसाबले मधेश प्रदेशमा अत्यधिक जनघनत्व रहेको देखिन्छ । सिमित क्षेत्रफल र अत्यधिक जनसंख्याका कारण शिक्षा, स्वास्थ्य, रोजगार लगायत अन्य कैयौं क्षेत्रहरु र उपलब्ध स्रोत साधनहरुमा अत्यन्तै चाप रहेको सजिलै अनुमान गर्न सकिन्छ । चौथो नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/८० अनुसार नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् भने मधेश प्रदेशमा २२.५३ प्रतिशत रहेका छन् । यो राष्ट्रिय औषत भन्दा २.२६ प्रतिशतले बढी रहेको छ । त्यस्तै श्रमशक्ति सर्वेक्षण, २०७४ अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ भने मधेश प्रदेशको २०.१ प्रतिशत रहेको छ । यो पनि राष्ट्रिय औषतभन्दा ८.७ प्रतिशतले बढी रहेको छ । जबकी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्या मधेश प्रदेशमा नै उच्च रहेको देखिन्छ ।
कुनै बेला देशकै शिक्षाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश आज शिक्षाको दुरावस्थाबाट गुज्रि रहेको अवस्था छ । मधेश प्रदेशका जिल्लाहरु कम साक्षरता भएका जिल्लाहरुको सूचीमा रहेका छन् भने एउटा पनि जिल्ला साक्षर जिल्ला घोषणा हुन सकेको छैन् । मधेश प्रदेशमा अझै पनि ३६ प्रतिशत जनसंख्या निरक्षर रहेका छन् भने एस.एल.सी. भन्दा माथि शिक्षा हासिल गरेका कुल जनसंख्या २२ प्रतिशत मात्र रहेका छन् । यसले मधेशमा शिक्षाको क्षेत्रमा उल्लेखणीय रुपमा काम र सुधार गर्नु पर्छ भने प्रष्ट देखिन्छ ।
नेपालको कुल वन क्षेत्र मध्ये सबैभन्दा कम ३.९ प्रतिशत वन क्षेत्र मधेश प्रदेशमा रहेको छ । यो मधेश प्रदेशको कुल वन क्षेत्रको २४.७८ प्रतिशत रहेको छ । मधेश प्रदेशको ८४ स्थानीय तहमा वन रहेको छैन् । मधेश प्रदेशको कुल गाहर्स्थ्य उत्पादनमा कृषि क्षेत्रको ३५ प्रतिशत, उत्पादनमूलक उद्योगको ५ प्रतिशत, शिक्षा क्षेत्रको १० प्रतिशत योगदान रहेको छ । नेपालको प्रति व्यक्ति कुल गाहर्स्थ्य उत्पादन १४३४ अमेरिकी डलर रहेको छ भने मधेश प्रदेशको ८९२ अमेरिकी डलर रहेको छ । यो राष्ट्रिय औषतभन्दा ५४२ अमेरिकी डलर कम रहेको छ । यसले मधेश प्रदेश आर्थिक रुपमा कम विकासित, उच्च जनसंख्या तर उत्पादन कम, आर्थिक असमानता, आर्थिक अवसरहरुको कमी रहेको बुझिन्छ । तसर्थ मधेशमा आर्थिक सुधार, रोजगार वृद्धि, लगानी वृद्धि तथा पूर्वाधार विकासको उच्च आवश्यकता रहेको देखिन्छ ।
हामी पूर्वाधार विकास त गर्छौ तर पूर्वाधारलाई जनजीविकासंग लिङ्क गर्न बिर्सन्छौं । जबसम्म पूर्वाधारहरुलाई मानवको दैनिकीसंग, जीविकोपार्जनसंग जोडदैनौं, सामाजिक आर्थिक विकासलाई गति दिन सकिदैन् । त्यसैले स्थानीय आवश्यकता र सम्भावनाहरुलाई मध्यनजर गरी सामाजिक एवम् आर्थिक विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुग्ने गरी बहुआयामिक प्रयासहरुको माध्यमबाट सामाजिक आर्थिक पूँजी निर्माण गर्न जरुरी छ ।
पूर्व पश्चिम राजमार्गको वरिपरिको क्षेत्रमा तीब्र शहरीकरण, शिक्षा, स्वास्थ्य, यातायात, होटेल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र औधोगिक क्षेत्रहरुको विकास र विस्तार उच्च गतिमा भईरहेकोले यस क्षेत्रको सामाजिक आर्थिक अवस्था एकदम राम्रो रहेको छ । शिक्षा र स्वास्थ्यमा पहुँच राम्रो छ भने शैक्षिक पूर्वाधारहरुको विकास र विस्तारले उच्च शिक्षाका सम्भावनाहरु पनि उत्तिकै रहेको देखिन्छ ।
मधेश प्रदेशको दक्षिणी भेग हुलाकी सडक वरिपरिको ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यमा पहुँच एकदम कमजोर छ । स्कुल, कलेज र अस्पतालहरुको उपलब्धताको अवस्था न्यून छ । शैक्षिक र स्वास्थ्य पूर्वाधारहरुको कमी छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सचेतनाको अवस्था दयनीय छ । यस क्षेत्रमा होटेल व्यवसाय, उद्योगधन्दा तथा कलकारखाना आदिको अभावका कारण रोजगारी वा स्वरोजगारीका अवसरहरुको पनि कमी नै छ । जसकारण गरिबी र बेरोजगारीको दर तुलनात्मक रुपमा बढी नै छ । पोषणको अवस्था पनि उत्तिकै खराब छ ।
प्रचुर सम्भावना बोकेको मधेश प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन निम्न दश वटा क्षेत्रमा काम गर्नुपर्दछ । १. शिक्षा, २. स्वास्थ्य, ३. रोजगार, ४. कृषि, ५. पर्यापर्यटन, ६. सूचना प्रविधि, ७. औधोगिक विकास र विस्तार, ८. नेक्स्टजेन सिटी निर्माण, ९. लिङ्केज एण्ड कनेक्टीभिटी, १०. पहुँच विस्तार र सुशासन । यी क्षेत्रहरुमा कार्यान्वयनयोग्य र नतिजामुखी दीर्घकालीन नीति, योजना, कार्यक्रम र लगानी आवश्यक रहेको छ । मधेश प्रदेशको उर्बर भूमि, उपलब्ध जनशक्ति र जनसांख्यिक लाभको भरपूर उपयोग गरी मधेश प्रदेश एवम् समग्र देशकै अर्थतन्त्रलाई गतिशील बनाउन श्रमयोग्य वातावरण निर्माण गर्नु पर्दछ ।
प्रदेशको उत्तरी भेग अर्थात चुरे क्षेत्रलाई पर्यटन हब र दक्षिणी भेगलाई औधोगिक करिडोरको रुपमा विकास गर्न ढिलो गर्नु हुदैन् । हुलाकी सडक क्षेत्रलाई शैक्षिक, औधोगिक, व्यापारिक हबको रुपमा विकास गर्नु पर्दछ । प्रदेशमा लगानी आकर्षित गरी पर्यटकीय, औधोगिक र भौतिक पूर्वाधारहरुको विकास एवम् विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाई प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउनु पर्छ । मधेश प्रदेशमा भएका स्रोत साधन र सम्भावनाहरुलाई दिगो परिचालन गरी यस क्षेत्रमा देखिएका गरिबी, बेरोगारी, अशिक्षा, कुपोषण लगायत अन्य कैयौं समस्याहरुलाई सजिलै समाधान गर्न सकिन्छ ।
मधेशको लाईफ भनेर चिनिने हुलाकी सडकलाई जनजीविका, आयआर्जन, रोजगारी र पर्यटनसंग जोड्न जरुरी छ । हुलाकी सडकलाई मधेश प्रदेशको आठवटै जिल्लाहरुसंग कनेक्ट गर्न एकदम अपरिहार्य रहेको छ । जस्तै पर्सा देखि रौतहटसम्मको कनेक्टीभिटी छ तर रौतहट र सर्लाहीको बीचमा रहेको बागमती नदीमा पुल नभएर कनेक्टीभिटी हुन सकेको छैन् । त्यस्तै धनुषा र सिराहाको बीचमा कमला नदीको पुल सुचारू नभएका कारण कनेक्टीभिटी छैन् । जसको परिणामस्वरुप पर्सा देखि सप्तरी वा पर्सा देखि मधेश प्रदेशको राजधानीसम्म वा सप्तरी देखि जनकपुरसम्म हुलाकी सडक भएर सहज आवागमन हुन सकेको छैन् । आवागमन मात्र होईन, यो क्षेत्रमा व्यापार, व्यवसाय, यातायात समेत फस्टाउन सकेका छैनन् । हुलाकी सडकमा राम्रो अस्पतालसम्मको सुविधा छैन् ।
हुलाकी सडक क्षेत्रमा मधेश प्रदेशका हरेक जिल्लामा कम्तीमा पनि एउटा नेक्स्टजेन सिटी निर्माण गर्नु पर्दछ । नेक्स्टजेन सिटी (नेक्स्ट जेनेरेसन सिटी) भनेको आधुनिक प्रविधि, कनेक्टिभिटी, पर्यावरणमैत्री, हरित अर्थतन्त्र र स्मार्ट पूर्वाधार सहितको भविष्य उन्मुख शहरी क्षेत्र हो । जसले हुलाकी सडक क्षेत्रमा नयाँ नयाँ उद्योग, व्यापार व्यवसाय, होटेल, कलेज, अस्पताल लगायतका अन्य पर्यटकीय स्थलहरुको स्थापना र विकास गर्न मद्दत पुग्नेछ । यसले वर्तमान पुस्ताको साथसाथै भविष्यको पिढींलाई पनि औधोगिकरण, स्वचालन, नवप्रवर्तन र उद्यमशीलता मार्फत दिगो र गुणस्तरीय जीवनयापन गर्न महत्वपूर्ण साधन बन्नेछ ।
हुलाकी सडक क्षेत्रमा कृषि हाट बजार, शीत घर, शीत भण्डार, गोदाम घर, चिस्यान केन्द्र, सङ्कलन केन्द्र, प्रशोधन केन्द्र जस्ता पूर्वाधारहरुको निर्माण गर्नु पर्दछ । अहिले हुलाकी सडक वरिपरि सुनसान रहेको ग्रामिण क्षेत्रहरुमा तीब्र गतिमा शहरीकरण हुन थाल्छ । पूर्व पश्चिम राजमार्गमा जुन अहिले चहलपहल छ, देखिन्छ, त्यो चहलपहल हुलाकी सडकमा पनि देखिन थाल्छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुको विकास हुन थाल्छ । औधोगिकरण र आधुनिकीकरण हुलाकी सडक क्षेत्र वरिपरि शिफ्ट हुन थाल्छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत अन्य सेवा क्षेत्रहरुमा अत्यधिक संख्यामा उत्पादनशील रोजगारीका अवसरहरु सिर्जना हुन थाल्छ । बेरोजगारी दरमा गिरावट आउँछ । सामाजिक एवम् आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा रहेको ग्रामीण अर्थतन्त्र र उत्पादनशील रोजगारीले अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन यथेष्ट सहयोग पुग्नेछ ।
प्रदेशको दक्षिणी भेगमा जो रोजगारीको अभावमा गरिबी र बेरोजगारीको चपेटमा जीवनयापन गर्न बाध्य छन् । परिवारको जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जान मजबुर छन् । तिनीहरुको जीवनमा सम्भावनाका ढोकाहरु खुल्न शुरु हुनेछ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्यत्र जानु पर्दैन्, बसाई सर्नु पर्दैन् । आन्तरिक बसाइसराई र श्रम आप्रवासनमा पनि ब्रेक लाग्न शुरु हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुले सहज रुपमा बजारको पहुँचमा आउँछ । जीवनयापनका लागि गरिने निर्वाहमुखी कृषि कर्म व्यवसायिक र आधुनिक कृषिमा परिणत हुन थाल्छ । कृषिमा युवा वर्गको आकर्षण बढ्छ । उत्पादन बढ्छ, उत्पादकत्व बढ्छ । प्रतिव्यक्ति आयमा बढोत्तरी हुन्छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्ने क्षमतालाई समेत बढाउँछ । समग्रमा हुलाकी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको जीवनस्तरमा सुधार आउँनेछ ।
विगत केहि वर्षदेखि मधेश प्रदेशमा गर्मीको मौसममा खानेपानीको समस्या हरेक वर्ष बढदै गएको छ । चापाकलहरुमा पानीको सतह घटने गरेको अवस्था छ । खानेपानीको अभाव देखिन थालेको छ । जसको परिणामस्वरुप मानिसहरुको जीवन कष्टकर बन्दै गएको र भविष्यमा यो समस्या अझै विकराल हुने सम्भावना पनि बढदै गएको छ । यसको दीर्घकालीन र दिगो समाधानका लागि उत्तरी भेगको माथिल्लो क्षेत्र अर्थात पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरी पूर्व देखि पश्चिमसम्म नहरको निर्माण गर्नु अति आवश्यक छ । यसले जलाशय निर्माण, जल संरक्षण, जैविक विवधता संरक्षण, भूमिगत जल पुनर्भरण, सिंचाई, जल विहार, जल यातायात, व्यवसायिक माछापालन, रोजगारी सिर्जनाको साथै उजाड बन्दै गरेको चुरे संरक्षणमा समेत योगदान पुग्नेछ । यसले भूमिगत जलस्तरलाई उठाई दक्षिणी भेगमा देखिने खानेपानी र सिंचाईको समस्याको दिगो रुपमा समाधान गर्न सघाउँछ र मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँछ । दक्षिणी भेगको जल, जमिन र जीवनको अस्तित्व उत्तरी भेग अर्थात चुरे क्षेत्रसंग जोडिएकोले यसले सामाजिक एकता एवम् सद्भाव समेत कायम गर्न सघाउँछ । नहरको डिलमा वृक्षारोपण र सडक सञ्जाल विस्तार गरी वातारण संरक्षण, वन क्षेत्रमा वृद्धि, हरियाली क्षेत्र प्रवर्द्धन, कार्बन सञ्चितीकरण, यातायात तथा बजार विस्तार र पर्यटन प्रवर्द्धन लगायत अन्य धेरै सम्भावनाहरुको विकास र विस्तार गरी चुरे क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा समेत परिवर्तन गर्न सकिन्छ ।
अन्त्यमा, हुलाकी सडक र चुरे क्षेत्र वरिपरिको ग्रामीण क्षेत्रमा स्रोत साधन र समन्यायिक विकासमा पहुँचको अभावका कारण कष्टकर, अभाव, दुखदायी, पछौटेपन र विभेदको जीवन व्यतित गर्दै आएको समुदाय, वर्ग र क्षेत्रको जीवनस्तरमा आर्थिक, सामाजिक, राजनैतिक रुपमा सुधार वा रुपान्तरण गर्न सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण र सामावेशी विकास गर्न केन्द्रित हुनु पर्छ । विकास निर्माणका गतिविधिहरुलाई भौगोलिक क्षेत्रका आधारमा सन्तुलन कायम गरी सञ्चालन गर्नु पर्दछ । यसले भविष्यमा हुने शहर केन्द्रित बसाइसराईमा समेत अंकुश लगाउन सहयोग पुग्नेछ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र रोजगारको क्षेत्रमा लगानी अभिवृद्धि भई मानवीय पुँजी निर्माण, उत्पादन वृद्धि र जीवनस्तरमा सुधार आउनेछ । विद्यमान रहेको विभेद र पछौटेपनको अवस्थाबाट उन्मुक्ति मिल्नेछ । गरिबी र बेरोजगारीको अन्त्य हुनेछ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा दीर्घकालीन रुपमा परिवर्तनहरु देखिन थाल्छ । परिणामतः प्रदेशको अर्थतन्त्र सबल, सुदृढ एवम् चलायमान हुनेछ र समृद्ध मधेश प्रदेशको परिकल्पनालाई पुरा गर्न सकिन्छ ।
मिति २०८१ चैत्र १५ गतेको नागरिक दैनिक पत्रिकामा प्रकाशित
