परिचय
सहकारी “सह” र “कार्य” मिलेर बनेको हो । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो । सहकारी संगठित, स्वतन्त्र, स्वायत्त व्यवसायिक तथा प्रजातन्त्रिक प्रक्रियामा आधारित सरकार नियन्त्रित नभर्इ सदस्यद्वारा नियन्त्रित हुन्छ । यो अविच्छिन्न, उत्तराधिकारवाला, आफ्नै शासकीय प्रणाली र व्यवस्थापकीय पद्धती भएको संयन्त्र पनि हो । “एकका लागि सबै, सबैका लागि एक” भन्ने आदर्शबाट सहकारीको शुरुवात अठारौं शताब्दीको उत्तरार्धमा बेलायतबाट भएको पाईन्छ । औद्योगिक क्रान्तिबाट शोषित पिडित मजदुरहरुको समस्या समाधान गर्नका लागि गरिएको सामुहिक प्रयास नै आजको सहकारी आन्दोलनको विकसित रुप हो ।
सहकारी त्यस्ता ब्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भई आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यक्ता तथा आकांक्षाहरुको परिपूर्ति संयुक्त स्वामित्व र प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय मार्फत गर्न सकिन्छ । सहकारी भन्नाले सदस्य उन्मुख, सदस्यद्धारा सदस्यकै स्वामित्वमा सञ्चालित व्यवसायिक क्रियाक्लापलाई जनाउँदछ । सहकारी कुनै स्थान विशेषमा बसोबास गर्ने ब्यक्तिहरु एकत्रित भई वा समान पेशा, व्यवसाय र कार्य गर्ने उद्देश्य र लक्ष्य भएका ब्यक्तिहरु आपसमा मिलेर आफ्नो हित अभिबृद्धिका लागि सहकार्यात्मक ढंगले व्यवसायिक कार्य गर्ने परिपाटी हो ।
आ.व. २०७६/७७ को फाल्गुन मसान्तसम्म कुल सहकारी संस्थाहरुको संख्या ३४ हजार ८ सय ३७ रहेको देखिन्छ । जसमा कुल ६५ लाख १५ हजार ४ सय ६० शेयर सदस्यहरु रहेका छन् भने शेयर पुँजी ७७ अर्ब २४ करोड रहेको छ । सहकारी क्षेत्रमा ३ खर्ब ५० अर्ब ५८ करोड रुपैया बचत भई ३ खर्ब ४१ अर्ब ७१ करोड रुपैया ऋण परिचालन भएको देखिन्छ । सहकारी क्षेत्रमा ६८ हजार ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिनु साथै लाखौंको संख्यामा अप्रत्यक्ष रोजगारी सृजना गरेको देखिन्छ ।
कानूनी व्यवस्था
नेपालको संविधान, २०७२ को धारा ५० को उपधारा (३) मा सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार स्तम्भको रुपमा अबलम्बन गरिएको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने साधन हुनेछ भन्ने व्यवस्था रहेको छ । त्यस्तै धारा ५१ को (घ) अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीतिमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने तथा सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने नीति अंगिकार गरिने व्यवस्था समेत गरेको छ । साथै संविधानमा सहकारी तीनै तहको सरकारको अधिकार सूचीमा समेटिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ख) मा सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन, नियमन, स्थानीय तहको क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन, सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन, सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य, सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि, स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास गर्ने काम, कर्तव्य र अधिकार स्थानीय तहको हुने व्यवस्था समेत रहेको छ ।
विपन्न महिला, अपाङ्ग, मुक्त कमैया, मुक्त हलिया, भूमिहिन कृषक, बेरोजगार, श्रमिक, दलित, अल्पसंख्यक, सीमान्तकृत सदस्यको श्रम वा सीपमा आधारित खेतीपाती वा स्वरोजगारीका लागि उद्यम, व्यवसाय, उद्योगधन्दा प्रवर्द्धन गर्न तथा सहकारीले आफ्नो प्रयोगको लागि आयात गर्ने मेशिनरी, औधोगिक तथा कृषि यन्त्र, उपकरण, पार्टपूर्जा, कच्चा पदार्थमा लाग्ने करमा आंशिक वा पुरै छुट दिन र बिउँ पुँजी, लागत सहभागिता अनुदान, सहुलियतपूर्ण ऋण लगायतको विशेष वित्तीय सुविधा तथा प्राविधिक सेवा प्रदान गर्ने कानूनी व्यवस्था समेत सहकारी ऐन, २०७४ ले गरेको छ ।
समृद्धिका लागि सहकारीको भूमिका
आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन र रुपान्तरणको लागि अपरिहार्य रहेको सहकारी क्षेत्रलाई सबल, सुदृढ, व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउदै व्यावसायिकताको विकास गर्न जरुरी छ । ग्रामीण भेगको उत्पादनमूलक क्षेत्रमा केन्द्रित रही सहकारीका माध्यमबाट आर्थिक असमानता हटाउन र आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु आवश्यक रहेको देखिन्छ । न्यून आर्थिक अवस्थामा जीवनयापन गरिरहेका गरिब, महिला, दलित, जनजाती, उत्पिडित तथा विपन्न समुदायहरु बीच सामुहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पूँजी र प्रविधिको माध्यमबाट सहकारीको गठन तथा संचालन गरी सामाजिक न्यायका आधारमा आत्मनिर्भर, तीब्र एवं दिगो रुपमा स्थानीय स्तरमा छरिएर रहेको अर्थतन्त्रलाई समुचित उपयोग गर्न सहकारीको ठूलो महत्व रहेको देखिन्छ । समन्यायिक समाजको निर्माण, गरिबी न्यूनीकरण, रोजगारी सृजना तथा समाजिक समावेशीकरण प्रवर्द्धनका साथसाथै नेपाललाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकको श्रेणीमा उकास्नका लागि समेत सहकारीताको विकास अपरिहार्य रहेको देखिन्छ ।
सहकारी आर्थिक र सामाजिक विकासमा व्यक्तिको पूर्ण सहभागितालाई बढावा दिन्छ र दिगो मानव विकासमा योगदान गर्न तथा सामाजिक बहिष्करणको विरूद्ध लड्नमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । यसले गरिब, बेरोजगार, विपन्न वर्गको आर्थिक तथा सामाजिक उन्नयन गर्नुको साथै ती वर्गको काम गर्ने स्थितिमा सुधार गर्न महत्वपूर्ण उपकरणको रूपमा रहेको देखिन्छ । सहकारीले स्कोप र स्केलको अर्थव्यवस्थालाई बढावा दिदै उनीहरूका सदस्यहरूको सौदा गर्ने शक्ति (बार्गेनिङ पावर) बढाउँदै सदस्यहरुलाई फाइदा, उच्च आय र सामाजिक सुरक्षा प्रदान गर्दछ । त्यसैले सहकारी सदस्यहरूलाई अवसर, संरक्षण र सशक्तिकरणको रूपमा सहयोग पुर्याउँदछ । सहकारी विशेष गरी सभ्य रोजगारी सिर्जना गर्न र आय आर्जनका लागि स्रोतहरूको अधिकतम् परिचालन गर्नका लागि महत्वपूर्ण उपकरणको रूपमा समेत हेर्ने गरिन्छ । सहकारीले स्थानीय स्तरमा आवश्यक सेवाहरू प्रदान गर्नुको साथै नगद प्रवाहको माध्यमबाट रोजगारीको सृजना समेत गर्न सक्ने देखिन्छ । सहकारी सामुदायिक भावनामा आधारित भई सञ्चालन हुने भएकोले सामाजिक एकता कायम गर्न योगदान गर्न सक्ने भएकोले यसले राष्ट्रिय एकतालाई बलियो बनाउने काम समेत गर्छ ।
स्थानीय आवश्यकता र अवसरको पहिचानबाट सुरू हुने गर्दछ, सहकारी । सहकारी सुरु गर्नका लागि अन्य व्यवसायहरू जस्तै आर्थिक प्रेरणाको आवश्यकता हुन्छ । सहकारी सदस्यहरूद्वारा संचालित संगठन भएकोले सहकारी सफलताको पहिलो खुडकिलो भनेको नै आवश्यक सीप, स्रोत साधन, क्षमता, पूँजी र व्यवसायिक ज्ञान भएको व्यक्तिको पहिचान गर्नु हो । स्थानीय श्रम, सीप, पूँजी र स्रोत साधनको परिचालन तथा ग्रामिण अर्थतन्त्रको विकास गरी सहकारीमा आधारित कृषिसंग सम्बन्धित उद्यम, व्यवसायको प्रवर्द्धन गरी कृषि उत्पादन, भण्डारण, प्रशोधन, बजार तथा बजारीकरण मार्फत कृषिलाई आधुनिकीकरण तथा व्यवसायिकरण गरी साना किसानहरको आय आर्जन तथा रोजगारी सृजनाको माध्यमबाट गरिबी निवारण गरी जीवनस्तरमा सुधार ल्याउन सहकारीले उल्लेख्य भूमिका निर्वाह गर्ने देखिन्छ ।
विश्व अर्थतन्त्र लगायत राष्ट्रिय अर्थतन्त्रमा समेत कोरोना महामारीका धेरै प्रभावहरू देखिन थालेका छन् । सहकारी आर्थिक संकटको समयमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । सहकारीले यी समस्याको समाधानका लागि आवश्यक योगदान पुर्याउन सक्छ । गरिब, बेरोजगार तथा विपन्न वर्गलाई सहकारी मार्फत एकत्रित गरी स्थानीय स्रोत साधन, श्रम, सीप र पुँजीलाई व्यापक रूपमा परिचालन गरी रोजगारी तथा आय वृद्धि र गरिबी निवारण गर्न सहयोग पुर्याउनेछ । साथै, सहकारीले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक, आर्थिक र सांस्कतिक रूपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्ने माध्यम समेत हुने देखिन्छ । सहकारीले छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकत्रित गरी उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नुको साथै वित्तीय पहुँच अभिवृद्धि, महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशिलता प्रवर्द्धन र गरिबी न्यूनीकरणमा समेत सहकारीको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सृजित बन्दाबन्दीले रोजगारी गुमाउनेको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । बढदै गरेको बेरोजगारीलाई सहकारी मार्फत रोजगारीमा रुपान्तरण गर्न स्थानीय श्रम, सीप, ज्ञान, पूँजी र प्रविधिको परिचालन गरी कुनै वस्तु वा सेवाको उत्पादन, वस्तु वा सेवाको व्यापार, लघु उद्यम, घरेलु तथा साना उद्योगको सञ्चालन वा अन्य कुनै व्यापार, व्यवसाय, उद्यम गर्न वा स्वरोजगार हुने क्रियाक्लाप सञ्चालन गर्नका लागि बिउँ पूँजी वा पूँजीगत अनुदान मार्फत आय आर्जन गर्न तथा रोजगारी सृजना हुने अवसर समेत देखिन्छ ।
निश्कर्ष
सहकारीले कृषि, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सहयोग गर्छ । सहकारीले गरीबी न्यूनीकरण, रोजगारी सिर्जना, आर्थिक वृद्धि र सामाजिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । स्थानीय स्तरमा छरिएर रहेको श्रम, सीप, पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै श्रम, सीप, पूँजी, प्रविधि तथा प्रतिभालाई अधिकतम रूपमा परिचालन गर्ने गरी सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको सबल आधार स्तम्भको रूपमा विकास गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान गर्नु पर्ने देखिन्छ ।
मिति २०७७ भदौ १७ गतेका दिन प्रशासन डट कममा प्रकाशित
