नेपालको संविधान, २०७२ को धारा ५६ को उपधारा १ मा संघीय गण्तन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको रहने व्यवस्था गरिएको छ । त्यस्तै धारा २९५ को उपधारा (३) बमोजिम नेपाल सरकारले मिति २०७२ चैत्र १ गते गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको गठन गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा मिति २०७३ फाल्गुन २२ गतेको नेपाल सरकारको निर्णयानुसार नेपालभर जम्मा ७४४ गाउँ/नगरपालिका कायम गरिएको थियो । पछि तराईका जिल्लाहरुमा जनसंख्या समेतलाई मध्यनजर गरी गाउँ/नगरपालिकाको संख्या पुनरावलोकन गर्न गठित समितिको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७४ जेठ ८ को निर्णयानुसार नेपालभर कुल ७५३ वटा गाउँ/नगरपालिका निर्धारण भएको थियो । संविधानको धारा ५७ को उपधारा (४) मा स्थानीय तहको अधिकार सूचि (अनुसूचि ८) मा उल्लिखित विषयमा एकल अधिकार हुने संवैधानिक व्यवस्था रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको करोना भाईरस संक्रमणले विश्व अर्थतन्त्रको साथसाथै नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको छ । यस महामारीका कारण आर्थिक गतिविधिहरु प्रायः ठप्प भई विश्व अर्थतन्त्रमा ३ प्रतिशतले संकुचन हुने विभिन्न निकायहरुले प्रक्षेपण गरेको देखिन्छ । नेपालमा कोरोना संक्रमणको परिणाम स्वरुप यस चालु आ.व.को आर्थिक वृद्धिदर २.३ प्रतिशतको हाराहारीमा रहने प्रारम्भिक अनुमान रहेको छ । मुलुकको आर्थिक समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विकासको पहिलो आधार नै स्थानीय तह हो । विश्वव्यापी कोरोना महामारीका कारण धरासायी भएको देशको अर्थतन्त्रमा सुधार ल्याउन तथा समष्टिगत रुपमा आर्थिक स्थायीत्व कायम गर्न स्थानीय तहले निम्न क्षेत्रहरु विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रममा समावेश गरी आर्थिक सम्वृद्धि हासिल गर्न सहयोग गर्ने नीति अंगिकार गर्नु पर्ने देखिन्छ ।

१. कृषिः स्थानीय तहले व्यवसायिक कृषिमा जोड दिई कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्छ । कृषि उत्पादनको आधारमा हरेक स्थानीय तहले आत्मनिर्भर हुने हिसाबले कम्तीमा पनि एउटा कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन, पहिचान, विकास तथा विस्तार गरी कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी रूपान्तरण गर्नु आवश्यक छ । नदीहरुको बगरमा व्यवसायिक बगर खेतीको थाल्नी तथा विस्तार गर्नु अपरिहार्य रहेको देखिन्छ । कृषिलाई उत्पादनमुखी बनाउन सहुलियतपूर्ण ऋण, अनुदान, कृषि विमा, मूल्य श्रृंखला, बजारीकरण, प्राविधिक परामर्श सेवा लगायत कृषि अध्ययन अनुसन्धानमा जोड दिई कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषिमा आश्रित परिवारहरुको जीविकोपार्जन तथा गरिबी नयूनिकरण गर्न र कृषिमा थप रोजगारी सृजना गरी आर्थिक वृद्धि हासिल गर्नु पर्ने देखिन्छ ।

२. शिक्षाः कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनु हुदैन् । तर पनि अझै धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित रहेको अवस्था कायमै छ । विद्यालय शिक्षामा बालबालिकालाई टिकाई राख्न बाल विकास केन्द्रहरुमा प्रविधिको प्रयोग मार्फत थप प्रभावकारी र गुणस्तरीय बनाउन अपरिहार्य रहेको देखिन्छ । गुणस्तरीय र जीवनोपयोगी शिक्षाको सुनिश्चतता गर्न कम्प्युटर ल्याब, प्रयोगशाला, पुस्तकालयको स्थापना तथा शिक्षकहरुको क्षमता विकास गर्नु पर्ने देखिन्छ । अपुग विषयगत शिक्षकको व्यवस्थापन गरी विद्यार्थी उपलब्धी परीक्षण गरी त्यसबाट प्राप्त नतिजाका आधारमा सुधार गर्ने नीति लिईनु पर्छ । स्थानीय तहहरुले प्राविधिक तथा व्यवसायिक शिक्षाको स्थापना, विकास तथा विस्तार गरी दक्ष, सक्षम, सिर्जनशील, पर्तिश्पर्धी र उत्पादनशील जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्छ ।

३. स्वास्थ्यः कोरोना महामारीका कारण देशमा उपलब्ध स्वास्थ्य संस्थाको अवस्था र उपलब्ध सेवा सुविधा माथि प्रश्न उठेको अवस्था छ । ग्रामिण क्षेत्रको स्वास्थ्य संस्थाको अवस्था अत्यन्तै कमजोर रहेकोले स्वास्थ्य सेवाको सबलीकरणमा विशेष ध्यान दिनु पर्छ । प्रत्येक स्थानीय तहले कम्तीमा पनि एउटा पालिकास्तरीय अस्पतालको निर्माण तथा विकास गरी भेन्टिलेटर, आई.सी.यू., ल्याब, एक्सरे लगायत अन्य सेवा सुविधा सहितको स्वास्थ्य पूर्वाधारको स्थापना तथा स्तरोन्नति गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने देखिन्छ । स्थानीय तहले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको लागि आवश्यक दक्ष जनशक्ति, औषधी, औजार उपकरणहरुको आपूर्ति समय मै गर्नु पर्छ भने स्वास्थ्य सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्न हेल्प डेस्कको व्यवस्था गर्नु पर्ने देखिन्छ । बाल रोग, प्रसव, सुत्केरी तथा सुरक्षित गर्भपतन सेवा, पोषण, प्रजनन स्वास्थ्य, परिवार नियोजन तथा मातृ शिशु सेवा लगायत अन्य सेवाहरुको सञ्चालन तथा व्यवस्थापनमा स्थानीय तह एक कदम अगाडी बढनु पर्दछ ।

४. रोजगारी तथा उद्यम विकासः कोरोना महामारीका रोजगारी गुमाउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । बढदो बेरोजगारी समस्यालाई सम्बोधन गर्न तथा युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्न स्थानीय तह अन्तर्गत स्थानीय रोजगार कोषको स्थापना गरी बेरोजगार, स्वरोजगार हुन चाहने तथा रोजगारी गुमाउने युवाहरुलाई लक्षित गरी स्थानीय स्तरमा उपलब्ध श्रम, श्रोत साधन, पूँजी र प्रविधिको उपलब्धतताको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न किसिमका सीपमूलक, रोजगारमूलक, व्यवसायिक तथा प्राविधिक तालिमहरुको माध्यमबाट दक्ष, सक्षम र उत्पादनशील जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्दछ । स्थानीय तह देखि नै नयाँ नयाँ उद्यम व्यवसायको पहिचान र विकास तथा उत्पादन र उत्पाकत्व वृद्धि गरी रोजगारी सृजना गर्नु पर्ने देखिन्छ । उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई उत्पादनशील व्यवसायिक योजनाको आधारमा स्थानीय रोजगार कोषबाट अनुदान तथा सहुलियत पूर्ण ऋण सुविधा उपलब्ध गराउनु पर्छ । उद्यम व्यवसायको विकास मार्फत रोजगारी सृजना गरी राष्ट्रिय अर्थतन्त्र उकास्न सहयोग गर्नु पर्छ ।

५. पर्यटनः कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये पर्यटन पनि एक हो । नेपाल पर्यटनमा प्रचुर सम्भावना भएको देश हो । नेपालको प्राकृतिक, धार्मिक, मौलिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँटहरु, वन्य जन्तु, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरुको संरक्षण, सम्वर्द्धन र विविधीकरण गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास, प्रवर्द्धन गर्नुको साथै पर्यटकीय पूर्वाधारहरुको विकास र सुधार गर्नु पर्ने देखिन्छ ।  

६. पूर्वाधार विकासः पूर्वाधार विकास भनेको सडक बाटोको विकास मात्र होईन । पूर्वाधार विकास अन्तर्गत उर्जा, यातायात, सूचना तथा सञ्चार प्रविधि, स्थानीय पूर्वाधार, विज्ञान प्रविधि, ग्रामिण तथा शहरी विकास, आवास, वस्ती तथा भवन विकास तथा पुनःनिर्माण क्षेत्रको विकास पर्दछ । स्थानीय तहले मुख्यतया स्थानीय पूर्वाधार विकास जोड दिई आर्थिक सामाजिक रुपान्तरणका लागि ग्रामिण अर्थतन्त्र र सामाजिक विकासमा सहयोग पुग्ने खालको स्थानीय पूर्वाधारको निर्माण तथा विकास गर्नु पर्ने देखिन्छ । जस्तैः कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व क्षमता वृद्धि गर्नका लागि उपयुक्त कृषि पूर्वाधारहरु सिंचाइ, सडक, कृषि हाट बजार, शीत घर, शीत भण्डार, गोदाम घर, चिस्यान केन्द्र, संकलन केन्द्र, प्रशोधन केन्द्र, प्रयोगशाला (माटोको उर्बराशक्ति परीक्षण) निर्माण, कृषि विद्युतीकरण, सिंचाई सुविधा आदिको स्थापना, विकास तथा विस्तार गर्नु आवश्यक देखिन्छ । स्थानीय तहले शैक्षिक तथा स्वास्थ्य पूर्वाधार, विद्युत, खानेपानी, फोहोरमैला व्यवस्थापन जस्ता न्यूनतम स्थानीय पूर्वाधारहरुको निर्माण तथा विकासमा जोड दिनु पर्छ ।

७. सूचना प्रविधिः स्थानीय तह मार्फत हुने सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, मितव्ययी तथा पारदर्शी बनाउन विधुतीय शासनको विकास, विस्तार तथा सञ्चालन गर्नु पर्ने देखिन्छ । यसको परिणाम स्वरुप स्थानीय तहका निकायहरू, स्थानीय सरकार-नागरिक तथा उद्योगी व्यवसायीहरुको सूचना तथा सेवाहरूमा सहज पहुँच कायम भई बिचौलिया, घुसखोरी, अनियमितता, भ्रष्टाचार तथा प्रक्रियागत झन्झटको अन्त्य हुनुको साथै जुन सुकै ठाउँबाट खोजेको बेला सहज रुपमा छिटो छरितो सेवा सुविधा प्राप्त भई सरकार र सेवाग्राही बीच कुशल सम्बन्ध स्थापित भई सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्नेछ ।

८. तथ्यांक व्यवस्थापनः कुनै पनि नीति, योजना, कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा तथ्यांकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । अहिले हामी कहाँ छौं र हाम्रो गन्तव्य के हो? भन्ने देखाउने काम तथ्यांकले नै गर्दछ वा समग्रमा तथ्यांकले मार्गनिर्देश गर्ने काम गर्छ । स्थानीय तहले एकीकृत तथ्यांक व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । स्थानीय तहले विकाससंग अन्तर सम्बन्धित तथ्यांकहरु शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी तथा रोजगारी, कृषि, जग्गा जमिन तथा सिंचाई, अपाङ्गता, विपद् लगायत अन्य तथ्यांकहरुको संकलन तथा व्यवस्थापनमा समेत ध्यान दिनु पर्ने देखिन्छ । अन्तयमा, कोरोना महामारीका कारण सृजित बन्दाबन्दीको परिणाम स्वरुप विश्वको अर्थतन्त्र लगायत नेपालको अर्थतन्त्र समेत ओरालो लागेको देखिन्छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र उकास्न राज्यका तीनै तहका सरकारले तादम्यता मिलाएर अगाडी बढनु पर्ने देखिन्छ । स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रममा उल्लेखित कुराहरु प्राथमिकतामा राखी अगाडी बढनु पर्छ ।

मिति २०७७ जेठ २५ गतेका दिन प्रशासन डट कममा प्रकाशित

Categorized in:

Publication,

Last Update: December 31, 2024