परिचयः Financial Action Task Force (FATF) एक अन्तर्राष्ट्रिय वित्तीय निगरानी गर्ने संस्था हो । जसले विश्वभर सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तपोषण नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसको स्थापना सन् १९८९ मा वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तपोषण) नियन्त्रण गर्न G7 (Group of Seven) देशहरूको पहलमा स्थापना गरिएको थियो । यसले कुनै देशले वित्तीय अपराध नियन्त्रणमा आवश्यक सुधार गरेको छ वा छैन भन्ने मूल्याङ्कन गर्ने कार्य गर्दछ । यसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको छ ।
स्थापनाको उद्देश्य: शुरुमा FATF लाई मनी लाउन्डरिङ रोकथामका लागि नीति बनाउने निकायको रूपमा स्थापना गरिएको थियो । तर सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमण पछि यसको क्षेत्राधिकार आतंकवाद वित्तपोषण रोकथामसम्म विस्तार गरियो र यसको कार्यक्षेत्रमा अवैध वित्तीय प्रवाह तथा भ्रष्टाचार नियन्त्रण समेत समावेश गरिएको हो ।
सदस्य देशहरू: FATF मा 39 सदस्य राष्ट्रहरू रहेका छन् । अमेरिका, क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, चीन, भारत, जापान, अस्ट्रेलिया र रुस आदि मुख्य सदस्य राष्ट्रहरु हुन । युरोपियन आयोग (European Commission) तथा खाड़ी सहयोग परिषद (Gulf Cooperation Council) पनि यसका सदस्य रहेका छन् ।
FATF को प्रमुख कार्यहरू:
- नियम तथा मापदण्डहरू निर्धारणः सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तपोषण रोक्न अन्तर्राष्ट्रिय नियम तथा मापदण्डहरू बनाउने,
- सदस्य राष्ट्रहरूको मूल्याङ्कनः देशहरूले मापदण्डहरू पालना गरेका छन् कि छैनन् भन्ने निगरानी गर्ने,
- ग्रे लिस्ट र ब्ल्याक लिस्ट प्रकाशनः जोखिमयुक्त देशहरूको सूची निकाल्ने,
- अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यः IMF, World Bank, UN जस्ता संस्थाहरूसँग मिलेर वित्तीय अपराध नियन्त्रण गर्ने ।
FATF ले जारी गर्ने सूचीः यसको नियमहरू पालना नगर्ने देशहरूलाई FATF ले मुख्यतः Grey List (निगरानी सूची) र Black List (कालो सूची) गरी दुई प्रकारका सूची (लिस्ट) निकाल्दछ ।
- निगरानी (Grey List): यो त्यस्तो सूची हो, जसमा सम्पत्ति शुद्धीकरण (Money Laundering) तथा आतंकवाद वित्तपोषण (Terrorist Financing) रोकथाम वा नियन्त्रण गर्न पर्याप्त सुधार वा प्रयास नगरेका तर सुधार गर्ने प्रतिबद्धता जनाएका देशहरु पर्ने गर्दछ ।
- कालो सूची (Black List): यो त्यस्तो सूची हो, जसले FATF का निर्देशिका तथा अन्तर्राष्ट्रिय वित्तीय सुरक्षा मापदण्डलाई पालना नगर्ने देश पर्दछ । हालसम्म कालो सूचीमा उत्तर कोरिया र इरान गरी दुईवटा देश रहेका छन् ।
ग्रे लिस्टमा पर्नु/समावेश हुनुका कारणहरू
- मनी लाउन्डरिङ रोक्न प्रभावकारी कानुनी व्यवस्था नहुनु,
- बैंक तथा वित्तीय संस्थामा पारदर्शिता नहुनु,
- आतंकवादी संगठनहरूको वित्तीय पहुँचमा नियन्त्रण कमजोर हुनु,
- भ्रष्टाचार तथा अवैध आर्थिक गतिविधिहरूलाई रोक्न असफल हुनु ।
ग्रे लिस्टमा परेपछि देशहरूलाई पर्ने प्रभावहरू
- वैदेशिक लगानीमा गिरावट आउनु,
- अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय कारोबारमा कठिनाइ हुनु,
- राष्ट्रको क्रेडिट रेटिङ कमजोर हुनु ।
ग्रे लिस्टबाट बाहिरिन अपनाइने उपायहरू
- सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तपोषण नियन्त्रण गर्न आवश्यक कानून निर्माण र कडाइका साथ लागू गर्नु,
- वित्तीय प्रणाली पारदर्शी बनाउने उपायहरू अवलम्बन गर्नु,
- FATF ले सिफारिस गरेका सुधार कार्यक्रमहरू कार्यान्वयन गर्नु ।
सन् २०२५ फेब्रुअरी २१ मा FATF द्वारा जारी गरिएको सूची अनुसार नेपाल र लाओस ग्रे लिस्टमा थप भएका छन् भने फिलिपिन्स ग्रे लिस्टबाट बाहिरिएको छ । ग्रे लिस्टमा परेका कुल २५ वटा देशहरु अल्जेरिया, अंगोला, बुल्गेरिया, बुर्किना फासो, क्यामरुन, आइवरी कोस्ट, क्रोएसिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, हाईटी, केन्या, लाओस, लेबनान, माली, मोनाको, मोजाम्बिक, नामिबिया, नेपाल, नाइजेरिया, दक्षिण अफ्रिका, दक्षिण सुडान, सिरिया, तान्जानिया, भेनेजुएला, भियतनाम र यमन रहेका छन् ।
