मुलुकमा बढदै गरेको गरिबी र बेरोजगारीले युवा वर्गमा नैरश्यता बढदै गएको छ । के गर्ने, के नगर्ने अन्योलको अवस्था छ । जीवन निर्वाह कसरी गर्ने, घरपरिवार कसरी चलाउने अर्थात आयस्रोतको आधार के हुने बारेको दुविधा बीच आजको युवा पिढी गुज्रीरहेको अवस्था छ । बेरोजगारी बढेसंगै द्वन्द, हत्या, हिंसा र अराजकता पनि बढने गर्छ । बेरोजगारीको मुख्य कारण रोजगारीका अवसरहरुको कमी, सीपको कमी वा बेमेल, श्रम गर्ने संस्कृतिको अभाव, रोजगारमूलक सूचना वा जानकारीको कमी, श्रमयोग्य वातावरण नहुनु, श्रमको सम्मान नहुनु आदि नै रहेको छ । आजको युवा पिढी यसैको चपेटमा परेर बेरोजगारीको सामना गरिरहेको छ ।
नेपालमा २०६२/६३ को जनआन्दोलन पश्चात सङ्घीय लोकतन्त्रिक शासन प्रणालीको स्थापना भयो । संविधानसभाबाट संविधान जारी गरियो । संविधानमा श्रम र रोजगारी सम्बन्धी मौलिक हकको व्यवस्था गरियो । तीन वटै तहका सरकारहरुलाई श्रम र रोजगारी सम्बन्धी अधिकारको सुनिश्चितता गरियो । रोजगारी नारामा आयो, योजनामा आयो, नीतिमा आयो तर रोजगारमूलक कार्यक्रमहरु राज्यको प्राथमिकतामा परेन । जसको परिणामस्वरुप युवाहरु सीप र रोजगारीसंग जोडिन सकेन । सीपको अभावमा रोजगारी प्राप्त गर्न सकेन । परिणामत युवाहरुमा बेरोजगारी दर बढदै गयो । बेरोजगारीले धेरै युवाहरुलाई वैदेशिक रोजगारीको बाटो डोर्यायो । बेरोजगारीको समस्या दिन प्रतिदिन बिकराल हुदै गएको छ ।
नेपालको जनसंख्याको ठूलो हिस्सा युवाको रहेको छ । नेपालमा हरेक वर्ष लाखौं युवाहरू श्रम बजारमा प्रवेश गर्छन् । रोजगारीको खोजीमा युवाहरु शहर केन्द्रित हुदै गएको छ । गाउँघर रितिदै गएको छ । खेतबारी बाझो बनेको छ । आयातको हिस्सा बढदै गएको छ । तर पर्याप्त रोजगारीका अवसर नहुदाँ अधिकांश युवाहरु विदेश पलायन भईरहेका छन् । युवा पिंढीमा विगत केहि वर्षदेखि रोजगारीको अभावका कारण देश मै भविष्य निर्माण गर्ने वातावरण नरहेको भन्दै असन्तुष्टि बढदै गएको देखिन्छ । युवाहरुलाई मुलुकको विकासको मूलधारमा परिचालन गर्न नसकेर देशको अर्थतन्त्रले गति लिन नसकिरहेको अवस्थामा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय परिकल्पना कसरी पुरा गर्न सकिएला ।
नेपालको हरेक शासन व्यवस्था परिवर्तन गर्नमा युवा पुस्ताको अहम् भूमिका र योगदान रहदै आएको छ । शासन व्यवस्था परिवर्तन भयो तर युवा पुस्ताको अवस्थामा परिवर्तन भएन । वर्तमान शासन व्यवस्था, राजनीतिक परिवेश र परिस्थितिमा युवाहरूले चाहेको खोजेको जस्तो जीवनयापनमा परिवर्तन हुन सकेन । युवाहरुले अनुभूति गर्ने गरी रोजगारीको अवस्थामा सुधार हुन सकेको छैन् । राज्यले रोजगारी सिर्जना हुने, स्वरोजगार हुने वातावरण बनाउन सकेन् । योग्यता, क्षमता र सीप अनुसारको रोजगारी नपाउँदा युवाहरुमा निराशा छन् । जसको परिणाम स्वरुप युवाहरूमा मानसिक तनाव, भविष्य प्रति चिन्ता, आर्थिक असुरक्षा, सरकार र शासन व्यवस्था प्रति अविश्वास बढेको देखिन्छ ।
युवाहरुको मुद्दामा राज्य केन्द्रित हुन सकेन । यो शासन व्यवस्थाले युवाहरुको अवस्थामा सुधार नहुने बुझाई विकास भएको छ । जीविकोपार्जनको उपयुक्त विकल्पको अभाव वा रोजगारीको अभावमा देशको शासन व्यवस्थाप्रति युवा पिढीको वितृष्णा बढदै गएको छ । शासन व्यवस्था परिवर्तनले मात्र रोजगारीको समस्या समाधान हुने युवाहरुमा बुझाई निर्माण भएको देखिन्छ । रोजगारीको अभावमा शासकीय प्रणाली र शासन व्यवस्थाको विरुद्धमा युवा पुस्ता एकमत भएको देखिन्छ ।
युवा पुस्ताका लागि शासन प्रणाली भन्दा आर्थिक अवसर, आयआर्जन र जीविकोपार्जन मुख्य कुरा हो । युवा पुस्ताले सरकारबाट ठोस योजना, कार्यक्रम र कार्यान्वयन खोजेका छन् । त्यसैले देशको मुख्य एजेण्डा रोजगारी सिर्जना हुनु पर्छ । रोजगारी हरेक तहको सरकारको प्राथमिकतामा पर्नु पर्छ । रोजगारमूलक कार्यक्रम तीन वटै तहका सरकारले सञ्चालन हुनु पर्छ । कुन कुन क्षेत्रमा कति संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । सो क्षेत्रहरुको पहिचान गरेर युवाहरुलाई सीप विकास कार्यक्रममा आबद्ध गरी रोजगारीमा पदस्थापन गर्नु पर्छ ।
युवाको सोंच, शक्ति र सिर्जनशीलतालाई मुलुकको विकास र समृद्धिमा परिचालन गर्न राज्यले ढिलो गर्नु हुदैन् । युवा वर्गको मुख्य आवश्यकता रोजगारी हो । काम गर्ने सीप हो । युवा पुस्तालाई सीपसंग जोड्नु पर्छ । श्रमसंग जोड्नु पर्छ । युवाहरुलाई रोजगारीमा डाईभर्ट गर्नु पर्छ । युवाहरुलाई गरि खान श्रमयोग्य वातावरण निर्माण गर्नु पर्दछ । सीप र रोजगारीका हरेक कार्यक्रमहरुलाई एकीकृत गरी एकद्वार प्रणाली मार्फत सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता बन्दै गएको छ ।
नेपालभित्रै रोजगारीका प्रसस्त अवसरहरु सिर्जना गर्न आन्तरिक रोजगार प्रवर्द्धन दशक (आ.व. २०८२/८३ देखि २०९१/९२) को घोषणा गरिएको छ । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको शुभारम्भ पनि गरिएको छ । दशक र कार्यक्रमले नेपालको युवाशक्तिलाई शक्दो परिचालन गर्न सक्नु पर्दछ । देशमा पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गरी रोजगारीमा पदस्थापन गर्न सक्नु पर्दछ । मुलुकको बेरोजगारीको समस्यालाई समाधान गर्न सघाउँनु पर्दछ ।
नेपालको आन्तरिक श्रम बजारका विभिन्न क्षेत्रहरु जस्तैः निर्माण क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र होस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्तिहरुको उच्च माग रहेको छ । त्यस्तै सेवा क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव रहेको छ । भारत लगायत अन्य मुलुकको दक्ष जनशक्तिले नेपाली श्रम बजारको अधिकांश हिस्सा ओगटेको छ । नेपाली जनशक्तिहरु सीप, सूचना र सक्षमताको अभावमा बेरोजगारीको मार खेप्नु परेको छ । त्यसैले कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रलाई रोजगारीको मुख्य क्षेत्र बनाउनु पर्ने आवश्यकता छ ।
युवाको जोश, जाँगर र उर्जावान समयलाइ देशको हित र विकासमा परिचालन गर्नु पर्दछ । युवाको नेतृत्व एवम् क्षमता विकास, सीप विकास, उद्यमशीलता विकास गरी युवा वर्गलाई श्रमशील, कर्मशील, क्षमतावान, दक्ष, शिक्षित बनाई मुलुकको सामाजिक, आर्थिक र राजनैतिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने बनाउनु पर्दछ । युवा पुस्तालाई सृजनशील र क्रियाशील बनाई युवा शक्तिलाई विकास र समृद्धिको संवाहकको रुपमा परिचालन गर्न सक्ने बनाउनु पर्दछ ।
अन्त्यमा, युवालाई विकासको संवाहक, सिर्जनशीलताको जननी र परिवर्तनको कारक भनिन्छ । तर शिक्षा, सीप, स्रोत साधन र रोजगारीको अभावमा विदेशिनु पर्ने बाध्यता बनेको छ । युवा पुस्ताको प्राथमिकता रोजगारी हो, आर्थिक आत्मनिर्भरता हो । शासन प्रणाली होईन् । तर शासन व्यवस्थाले युवा पुस्ताको भविष्य निर्माण गर्ने बाटो बनाइ दिनु पर्छ । अनि मात्र युवा पुस्ताले मुलुक भविष्य निर्माणमा जुट्न सक्छ । युवा पुस्ता भविष्यको बारेमा बढी चिन्तित रहेको छ । रोजगारी, स्वरोजगारी, उद्यमशीलता जस्ता विषयहरु युवाहरुको भविष्य निर्माण गर्ने प्रमुख क्षेत्र हुन् । युवा पुस्ताको नजरमा शासन व्यवस्था जे भए पनि आर्थिक अवसर र रोजगारी महत्वपूर्ण विषय हो । तसर्थ युवा पुस्ताले खोजेको आर्थिक अवसर, आर्थिक विकास, आर्थिक स्थायित्व, रोजगारी र भविष्य सुरक्षित गर्ने श्रमयोग्य वातावरण हो, शासन व्यवस्था परिवर्तन होईन् ।
