मधेश प्रदेशको अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्र पर्यटन पनि हो । मधेश धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधताले भरिपूर्ण हो । मधेशमा पर्यटनको बलियो आधार धार्मिक पर्यटन नै हो । अब यसलाई ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, सांस्कृतिक पर्यटन तर्फ रुपान्तरण गर्नु पर्दछ । मधेशमा पर्यटन प्रवर्द्धन एवम् विकासको प्रचुर सम्भावना बोकेका सम्पदाहरुको पहिचान, प्रवर्द्धन र पूर्वाधार विकास गरी नयाँ नयाँ पर्यटकीय गन्तव्य तयार गरी पर्यटक आकर्षित गर्नु पर्दछ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । विश्व पर्यटन संगठनका अनुसार विश्वमा कुल रोजगारीको १० प्रतिशत रोजगारी पर्यटन क्षेत्रले सिर्जना गर्छ । अर्थात विश्वका हरेक १० रोजगारी मध्ये एउटा रोजगारी पर्यटनसंग जोडिएको हुन्छ । पर्यटन क्षेत्रको एउटा रोजगारीले थप १.५ (डेढ) वटा अप्रत्यक्ष रोजगारी सिर्जना गर्न योगदान गर्दछ । पर्यटनलाई उद्यमशीलता र रोजगारीसंग जोड्नु पर्दछ । जसले मधेशमा होटेल व्यवसाय, अतिथि सत्कार, यातायात क्षेत्र, सेवा क्षेत्र लगायत अन्य कैयौं क्षेत्रहरुलाई गतिशील बनाई वार्षिक ५० हजारभन्दा बढीको संख्यामा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ ।

मधेशको धार्मिक पर्यटनमा आउने अधिकांश पर्यटक भारतीय हुन्छन् । मधेश प्रदेशको सबै जिल्लाको सिमाना भारतसंग जोडिएको छ । खुला सिमाना, बेटीरोटीको सम्बन्ध, धार्मिक तथा सांस्कृतिक समानतालाई भरपूर सदुपयोग गरी पर्यटकीय स्थलहरुलाई एक अर्कासंग कनेक्ट गरी मधेशको सामाजिक तथा आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ । जसले मधेशको अर्थतन्त्रलाई चलायमान बनाई मधेश समृद्धिका आधार तयार गर्नेछ ।

मधेश समृद्धिका लागि पर्यटन एउटा निर्विकल्प र मजबुत आधार हो । मधेशको आर्थिक कायापलट गर्न सक्ने कृषिपछिको क्षेत्र पर्यटन नै हो । मधेशमा पर्यटन प्रवर्द्धनका मुख्य आधार र मधेशको समृद्धिमा गर्न सक्ने योगदानहरूलाई निम्नाअनुसार विश्लेषण गरिएको छ ।

१. धार्मिक पर्यटकीय क्षेत्र: जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । जसले नेपाल र भारतलाई मात्र होइन, विश्वभरका हिन्दुहरूलाई धार्मिक आस्थामा जोडेको छ । रामायण सर्किटले भारतको अयोध्यादेखि जनकपुरधामसम्मको तीर्थयात्रालाई कनेक्ट गर्दा वर्षभरि लाखौँ धार्मिक पर्यटकको आवागमन बढने सुनिश्चित जस्तै छ । सीताको जन्मथलो, राम सीताको विवाह भूमि, विवाह मण्डप र ५२ कुटी तथा ७२ कुण्डहरू रामायण सर्किटको प्रमुख केन्द्रबिन्दुको रुपमा रहेको छ ।

बाराको गढीमाईमा हरेक पाँच वर्षमा एशियाकै ठूलो मेला लाग्ने गर्दछ । विवाह पञ्चमी, राम नवमी जस्ता पर्वहरू तथा गढीमाई र सलहेश मेला जस्ता मेलाहरुमा लाखौंको संख्यामा धार्मिक पर्यटकहरु आउने गरेका छन् भने थप धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सक्ने सम्भावना समेत बोकेको छ । सप्तरीको छिन्नमस्ता र कंकालिनी, सिरहाको सलहेश फुलवारी, धनुषाको धनुषधाम, महोत्तरीको जलेश्वर महादेव, रौतहटको शिवनगर, बाराको गढीमाई, पर्साको गहवामाई र विन्दवासिनी मन्दिर जस्ता प्रसिद्ध शक्तिपीठ एवम् मन्दिरहरूले मधेशको धार्मिक पर्यटनको जग बसालेका छन् ।

मधेशका धार्मिक स्थलहरुलाई एक अर्कासंग कनेक्ट गरी मधेश धार्मिक यात्राको रुपमा शुरुआत गर्नु पर्दछ । जानकी मन्दिर र गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी अन्तराष्ट्रिय धार्मिक गन्तव्यका रूपमा ब्रान्डिङ गरी थप पर्यटक आकर्षित गर्न ढिला गर्नु हुदैन् । यसले मधेशमा उद्यम व्यवसायहरुको विकास एवम् प्रवर्द्धनमा सहयोग पुग्नेछ र मधेशको आर्थिक समृद्धिको आधार तयार गर्नेछ ।    

२. ऐतिहासिक तथा पुरातात्त्विक पर्यटकीय क्षेत्रः मधेशको ऐतिहासिक पृष्ठभूमि निकै गौरवशाली छ । प्राचीन कालदेखि नै मधेशमा विभिन्न शक्तिशाली राज्य र रजौटाहरूको केन्द्र रहँदै आएको छ । मधेशको इतिहास प्राचीन सभ्यतासँग समेत जोडिएको छ । मधेशमा हजारौँ वर्ष पुराना सभ्यता बोकेका ऐतिहासिक तथा पुरातात्विक अवशेषहरू र प्रशासनिक ईतिहास झल्काउने स्थानीय गढीहरु रहेका छन् । मधेशको सबैभन्दा प्राचीन राज्य विदेह हो । जसको राजधानी जनकपुरधाम रहेको थियो । राजा जनकको शासनकालमा विदेह आध्यात्मिक र दार्शनिक केन्द्रको रुपमा रहेको थियो । सीता र रामबीचको विवाहले विदेह राज्यलाई धार्मिक र सांस्कृतिक रूपमा अमर बनाएकोले विदेहको आध्यात्मिक र दार्शनिक केन्द्रहरुलाई विदेह गौरव यात्राको रुपमा विकास गर्नुपर्छ ।

सन् १०९७ मा नान्यदेवले बाराको सिम्रौनगढलाई राजधानी बनाई कर्णाटक वंशको जग बसालेका थिए । कर्णाटक राज्यको पालामा कला, वास्तुकला र साहित्यको अभूतपूर्व विकास भएको थियो । सिम्रौनगढमा रहेका मूर्तिहरू र ढुङ्गामा कुँदिएका कलाकृतिहरू आज पनि पुरातात्विक महत्व एवम् प्राचीन सभ्यताका धरोहरका रुपमा रहेका छन् । सिम्रौनगढलाई प्राचीन मधेश म्युजियमको रुपमा विकास गरी त्यहाँका पुरातात्विक अवशेष र कर्णाटक वंशको इतिहासले विश्वभरका इतिहासकार, शोधकर्ता, अनुसन्धानकर्ता र अन्य पर्यटकहरुलाई आकर्षित गर्नेछ ।

नेपाल अंग्रेज युद्धको इतिहासमा रौतहटको लडैया समनपुरको युद्ध एक गौरवशाली रणभूमिको रुपमा रहेको थियो । वि.सं. १८७१ को युद्धमा नेपाली वीरहरुले अदम्य साहसको प्रदर्शन गर्दै अंग्रेजलाई पराजित गरेको थियो । समनपुरलाई लडैया समनपुर गौरव स्मृति पार्कको रुपमा विकास गर्नुपर्दछ । लोकनायक सलहेसलाई महिसौथा राज्यको वीर योद्धा र शासकका रूपमा चिनिन्छ । उनको गाथा आज पनि लोकसंस्कृतिमा जीवितै छ । सलहेसको वीरता र प्रेम गाथासँग जोडिएको सिराहाको सलहेस फुलवारी जहाँ नयाँ वर्षको दिन फूल फुल्ने गर्दछ । यसले प्रकृति र इतिहासलाई एउटै थलोमा जोडेको छ । यो ऐतिहासिक फुलवारीलाई सलहेस लोक उद्यान पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्दछ ।  

विभिन्न कालखण्डमा मधेशमा साना साना शासक र रजौटाहरूले पनि शासन गरेका थिए । जसलाई गढी वा कोट भनिन्थ्यो । रौतहटको पुरेनवा दरबारले मधेशमा मध्यकालीन र राणाकालीन शासनको पाटोलाई उजागर गर्छ । तत्कालीन समयमा सामन्ती शासन व्यवस्था र स्थानीय प्रशासन सञ्चालनको केन्द्र रूपमा यसलाई चिनिन्थ्यो । यो दरबार राणाकालीन वास्तुकलाको एउटा उत्कृष्ट नमुना हो । यसको निर्माण शैलीले तत्कालीन समयको वैभव र कलालाई समेत झल्काउँछ । पुरेनवा दरबार क्षेत्रलाई पुरातात्विक उत्खनन र जीर्णोद्धार गरी पुरेनवा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्दछ । मधेशमा रहेका सलहेश फूलवारी, विदेह राज्य, लडैया समनपुर किल्ला, पुरेनवा दरवार र सिम्रौनगढलाई समेटेर मधेश ऐतिहासिक स्मृति सर्किट निर्माण गरी मधेशका प्राचीन, ऐतिहासिक र पुरातात्विक स्थलहरुको अध्ययन, अनुसन्धान तथा खोज गर्नेहरुलाई आकर्षित गर्नुपर्छ । जसले समग्र मधेशको आर्थिक उन्नतिमा सहयोग गर्नेछ ।

३. सांस्कृतिक पर्यटकीय क्षेत्र: मिथिला कला विश्वमै अद्वितीय छ । मिथिला कला, मधेशको खानपान, रहनसहन, लोकगीत तथा संस्कृति आफैँमा एउटा ठूलो आकर्षणको केन्द्रको रुपमा रहेको छ । मधेशको सभ्यता, संस्कृति र सत्कार सम्बन्धी सम्पूर्ण अनुभवहरुलाई समेटेर मधेश सभ्यता दर्शन निर्माण गरी पर्यटकहरुलाई झिझिया, सामाचकेवा, डोमकच, सोरठी नाच, होरी, सोहर, निर्गुण जस्ता लोकनृत्य र लोकसंगीत एवम् मधेशको मौलिक खानपानलाई अतिथि सदन (होमस्टे), होटेल र रेस्टुरेन्टमार्फत प्रवर्द्धन गर्नु पर्दछ । यहाँ आउने पर्यटकले स्थानीय खानपानको स्वाद लिने, लोकनृत्य र संगीतमा रमाउने, कलासंस्कृति सिक्ने र छठ पर्व लगायत अन्य पर्वहरुमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । जसले मधेशमा आउने पर्यटकको औषत बसाई अवधिलाई मात्र लम्ब्याउँदैन, पर्यटकको खर्च पनि बढाउँछ र यात्रालाई स्मरणीय बनाउँछ । मधेशको खानपानलाई प्रवर्द्धन गर्न मधेशलोक परिकारको रुपमा ब्राण्डिङ्ग गरी फूड टुरिजमको विकास गर्नु पर्दछ । यसले अन्तराष्ट्रिय पर्यटकलाई आकर्षित गर्न मद्दत गर्नुको साथै स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास र आयआर्जनको सम्भावनालाई समेत मजबुत बनाउँछ ।

४. पर्या-पर्यटन पर्यटकीय क्षेत्र: मधेश प्राकृतिक र जैविक रूपमा पनि निकै सम्पन्न छ । प्राकृतिक स्रोत र जैविक विविधता मधेशको पर्या-पर्यटनका मुख्य खम्बा हुन् । मधेशमा घना वनजंगल, चुरे पहाड, उब्जाउ समथर जमिन, विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिहरुको उपस्थिति रहेका छन् । संकटापन्न प्रजातिका गिद्ध, सारस र खरमयूर जस्ता चराहरू मधेशका खेतबारी र सिमसारहरुमा सजिलै देख्न सकिन्छ । हात्ती, पाटे बाघ र गैंडाको बासस्थान रहेको पर्सा राष्ट्रिय निकुञ्ज जंगल सफारीका लागि उत्कृष्ट गन्तव्य रहेको छ । कोशी टाप्पु वन्यजन्तु आरक्ष चराहरूका लागि स्वर्ग जस्तै छ, जहाँ ५०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । जाडोको मौसममा साइबेरियादेखि चराहरू आउने गर्छन् । यहाँ आउने विदेशी चरा, कोशी नदीमा पाइने गैंगेटिक डल्फिन र अर्नाले पर्यटकलाई लोभ्याउँने र आकर्षित गर्ने काम गर्छ । तसर्थ कोशी टाप्पुलाई मधेश चिरिया दहको रुपमा विकास गरी दुर्लभ चराचुरुङ्गीहरुको अवलोकन गर्न आउने प्रकृतिप्रेमी पर्यटकहरुका लागि नेपालकै उत्कृष्ट गन्तव्य बनाउनु पर्दछ ।

चुरे क्षेत्रको मनोरम प्राकृतिक दृश्य, खोलानाला, झरनाहरुलाई समेटेर चुरे क्षेत्रको विभिन्न खण्डलाई चुरे मधेश मनोरम प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्दछ । सर्लाहीको बागमतीमा रहेको मानव निर्मित तालमा वाटर स्पोर्ट्स र मनोरञ्जनका सुविधाहरू थप गरी जल पर्यटनको केन्द्रको रुपमा विकास गर्नुपर्दछ । जसले सप्ताहिक बिदा मनाउन आउने पर्यटकहरूको आकर्षणलाई बढाउनेछ । जलविहारको सम्भावना बोकेका मधेशका अन्य विभिन्न ताल, पोखरी, झिल र सिमसारहरुलाई मधेश नौकाविहार पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्दछ । कोशी टाप्पु, कोशी बगर, भरत ताल, नुनथर, पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीलाई समेटेर हरित मधेश प्राकृतिक अवलोकन सर्किटको रुपमा निर्माण गर्नु पर्दछ । जसले पर्यटकलाई समग्र मधेशको प्राकृतिक सम्पदाहरुको अवलोकन गर्ने र आनन्द लिने अवसर प्रदान गर्नेछ । यसले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाई अर्थोपार्जन गर्न सघाउँनुको साथै उद्यमशीलतालाई प्रवर्द्धन गरी वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई मुलुकमै स्वरोजगार हुन आकर्षित गर्नेछ ।

अन्त्यमा, मधेशका पर्यटकीय गन्तव्यहरूलाई एक अर्कासंग जोड्न सडक सञ्जालको विस्तार एवम् स्तरोन्नति, सरसफाई तथा स्वच्छतामा सुधार, सञ्चार र यातायात सुविधाको पहुँच विस्तार, अतिथि सदन (होमस्टे), भिलेज रिसोर्ट एवम् होटलहरूको गुणस्तरीयता वृद्धि, सुरक्षा सुव्यवस्था कायम गर्नु पर्दछ । मधेशको विविधतालाई अन्तराष्ट्रिय स्तरमा डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने, पर्यटकहरूको सहज आवागमनका लागि सीमा नाकाहरूमा पर्यटकीय सेवा केन्द्र, पर्यटक प्रहरी र सहज कानुनी प्रक्रियाको व्यवस्था गर्नु पर्नेछ ।मधेशको प्राकृतिक सुन्दरता, धार्मिक आस्था, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवलाई केन्द्रित गरी मधेश दर्शनको रुपमा विकास र ब्रान्डिङ्ग गरी मधेशलाई नेपालको मात्र नभई दक्षिण एसियाकै एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्दछ ।

मधेश दर्शनको माध्यमबाट मधेशको पहिचान, ग्रमीण जीवनशैली, विभिन्न समुदायको भेषभुषा, भाषा, पहिरन, पर्व, परम्परा, कला, संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय जगतमा प्रचारप्रसार गरी अन्तराष्ट्रिय पर्यटकको आकर्षणको केन्द्रबिन्दुको रुपमा विकास गरी मधेशलाई अध्ययनको केन्द्र बनाउनु पर्दछ । मधेश दर्शनमा आउने पर्यटकहरुले मधेशको सम्पदाहरुबाट अनुपम आनन्द लिन सक्नेछ भने एउटै पर्यटकलाई विभिन्न क्षेत्रहरुमा भुलाउन सकिन्छ । जसले गर्दा पर्यटकहरूको बसाइ अवधि लम्बिने र खर्च बढ्न जानेछ । परिणामतः मधेशमा रहेको आर्थिक असमानता, गरिबी र बेरोजगारीको समस्यालाई समाधान एवम् मधेशको समृद्धिमा योगदान गर्न सक्नेछ ।

Categorized in:

Publication,

Last Update: June 14, 2026