पृष्ठभूमि

युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहको ब्यक्तिलाई जनाउँछ । युवा विकासका अग्रदुत, परिवर्तनको संवाहक, देश निर्माणको प्रमुख स्रोत तथा राष्ट्रको धरोहर एवं अमूल्य सम्पत्ति हो । युवा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको कारक पनि हो । युवाको परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन् । नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत युवाशक्ति रहेको छ । विश्व युवा विकास सूचकांक, २०१६ अनुसार नेपाल ७७ औं स्थानमा र रोजगारी तथा अवसरमा ६० औं स्थान रहेको छ । रोजगार भनेको पेशालाई दर्साउँछ । रोजगारी भनेको आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरुका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउँछन् । पारिश्रमिक तलब वा ज्यालाको रुपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर सरकारी संघसंस्था वा कुनै पनि निजी संगठन हुन सक्छ । रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ ।

रोजगारी सम्बन्धी कानूनी व्यवस्था

नेपालको संविधान, २०७२ को धारा ३३ मा रोजगारीको हक र धारा ३४ मा श्रम सम्बन्धी हकलाई मौलिक हकको रुपमा समेटिएको छ । त्यस्तै धारा ५१ (राज्यका नीतिहरु) को (झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अंगिकार गर्न सक्ने व्यवस्था रहेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा बेरोजगार ब्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारीको व्यवस्था गरिएको छ ।

रोजगारीको वर्तमान अवस्था

नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ भने पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत रहेको छ । यसै गरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी रहेको छ । नेपालको श्रमशक्तिमा सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत रहेको छ । यसै गरी पुरुष र महिलाको श्रमशक्तिमा सहभागिता दर क्रमशः ५३.८ प्रतिशत र २६.३ प्रतिशत रहेको छ । रोजगारमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम २४.१ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रहेको छ । बेरोजगारी दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश नं. २ मा २०.१ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा ७ प्रतिशत मात्र रहेको छ । प्रदेश अनुसार श्रमशक्तिमा सहभागिता दर सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.१ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार ६२.२ प्रतिशत ब्यक्तिहरु अनौपचारिक तथा असंगठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रुपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ ।

COVID-19 को संक्रमणलाई नियन्त्रण गर्नका लागि विश्वका अधिकांश देशहरु लगायत नेपालले पनि बन्दाबन्दी (Lockdown) गरेको अवस्था थियो । बन्दाबन्दीको अवस्था पछि COVID-19 को संक्रमण तथा असरलाई नियन्त्रण गर्न तथा सर्वसाधारणको जीउ ज्यानको रक्षा गर्न जिल्ला पिच्छे निषेधाज्ञा जारी गरिएको थियो र छ पनि । COVID-19 को प्रभाव विश्व अर्थतन्त्र संगसंगै नेपालको अर्थतन्त्रमा समेत परेको देखिन्छ । देशमा भएका उद्योगधन्दा, कलकरखाना, यातायात, पर्यटन, मनोरञ्जन, होटेल तथा रेष्टुरेन्ट, रियल स्टेट, कृषि, व्यापार, व्यवसाय, निर्माण कार्य (सार्वजनिक तथा निजी) आदि लगायत कैयौं क्षेत्रहरु पूर्ण रुपमा बन्दाबन्दीको चपेटमा रहेको थियो । यी क्षेत्रहरुमा काम गर्ने श्रमिक मजदुरहरु रोजगारी विहिन भई बेरोजगारीको संख्या बढेको देखिन्छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारहरुको आम्दानीको मुख्य श्रोत नै उक्त क्षेत्रहरुमा दैनिक ज्यालादारी एवं मजदुरी गर्ने र निर्वाहमुखी कृषिबाट जीवन गुजारा चल्ने गरेको देखिन्छ । ती ब्यक्तिहरु अहिले रोजगार विहिन भई रोजीरोटी गुमेको अवस्थामा छ । उनीहरुको जीवन कष्टकर हुदै गएको छ भने भोकै बस्न बाध्य भएका छन् ।

COVID-19 को प्रभावका कारण औद्योगिक उत्पादनमा भएको संकुचनले गर्दा कार्य गर्ने समय (घण्टा) मा कमी आउनु, स्वरोजगारीबाट प्राप्त हुने आम्दानीमा ह्रास हुनु, बजारमा उपभोग्य वस्तुहरुको अभाव र अस्वभाविक मूल्य बृद्धि हुनु, माग र आपूर्ति बिचको श्रृंखलामा भएको अवरोधका कारण रोजगारी र आम्दानीमा कमी आउनु, व्यापार घाटाबाट जोगिन रोजगारदाताहरुले रोजगारी कटौती गर्नुका कारण छोटो अवधिका कामदारहरुको जीवनयापन असहज हुनु तथा बजार अवरोधका कारण थोक तथा खुद्रा व्यापार व्यवसायमा आएको गिरावट, निर्माण क्षेत्रमा भएको अवरोध, औद्योगिक आयातमा कमी आदि क्षेत्रहरुमा प्रभाव पर्नुले पनि बेरोजगार हुनेको संख्यामा बढोतरी भएको देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा आएको अवरोधका कारण नेपालका होटेल, रेष्टुरेन्ट, माउन्टेन ट्रेकिङ, पर्वतारोहण लगायत पर्यटनसंग सम्बन्धित अन्य कैयौं क्षेत्रहरुबाट रोजगारी गुमाउनेहरुको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । COVID-19 बाट पर्यटन क्षेत्रको रोजगारी सबैभन्दा बढी प्रभावित भएको देखिन्छ ।

युवा रोजगारीका चुनौती र समस्याहरु

श्रम तथा रोजगारीको हक कार्यान्वयन गर्नु, उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सृजना गर्नु, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु, श्रम बजारको माग अनरूप सीपयुक्त श्रमशक्तिको विकास गर्नु, बजारको माग अनुसारको जनशक्ति आपूर्ति गर्न नसक्नु, शिक्षालाई व्यावहारिक र रोजगारमलूक बनाई उद्यमशीलिता विकास गर्नु, श्रमिक र रोजगारदाता बीच सुसम्बन्ध स्थापित गर्नु, श्रम निरीक्षण र नियमनलाई प्रभावकारी बनाउनु आदि युवा रोजगारीका मुख्य चुनौतीहरुको रहेको छ । श्रम, सीप र उत्पादनबीच तादम्यता कायम हुन नसक्नु, श्रमप्रतिको सम्मानको कमी हुनु, उद्यमशीलिता विकास तथा स्वरोजगार प्रवर्द्धन र उत्पादनशील रोजगारीको सृजना पर्याप्त हुन नसक्नु (न्यून उत्पादकत्व, न्यून ज्याला र कमजोर कार्य अवस्था), वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीको न्यून परिचालन हुनु, श्रमबजार सूचना प्रणालीको विकास नहनु आदि युवा रोजगारीका समस्याहरु रहेको देखिन्छ ।  

दिगो रोजगारीका सम्भावना क्षेत्रहरु

नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्दछन् । नयाँ श्रमशक्तिको लागि पर्याप्त रोजगारीका अवसर सृजना हुन नसकेका कारण श्रमको माग र आपूर्ति बीच ठूलो अन्तर रहेको देखिन्छ । आन्तरिक श्रम बजारको प्रशोचन क्षमता समेत न्यून हुँदा अतिरिक्त श्रमशक्ति वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेका छन् । दिगो रुपमा बेरोजगारीको समस्या समाधान गर्न निम्न रोजगारीका मुख्य सम्भावना क्षेत्रहरुमा थप रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने देखिन्छ ।

१. कृषि क्षेत्र

नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत जनसंख्या जीविकोपार्जन तथा रोजगारीको लागि कृषि पेशामा आश्रित रहेका छन । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योग्यदान हरेक वर्ष घट्दै गएको अवस्था छ । कुल कृषि योग्य जमिन को २१ प्रतिशत (३० लाख ९१ हजार हेक्टर) मा खेती गरिएको छ भने ७ प्रतिशत (१० लाख ३० हजार हेक्टर) जमिन बाँझो नै रहेको अवस्थामा छ । कृषि क्षेत्र सबैभन्दा धेरै रोजगारी सृजना तथा प्रदान गर्ने क्षेत्र हुन् । नेपालमा रोजगारी पाएका प्रत्येक पाँच जना ब्यक्ति मध्ये एक जना कृषिमा नै रोजगार रहेका छन् । बेरोजगार ब्यक्तिहरुलाई भूमि बैंक मार्फत बाँझो रहेको खेती योग्य जमिनमा कृषि कार्यका लागि सहज पहुँच पुर्याई बाँझो रहेको जग्गामा व्यवसायिक खेती गर्न प्रोत्साहन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औधोगिकीकरण गरी कृषि उत्पादन, उत्पादकत्व तथा कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्दछ । बेरोजगार ब्यक्तिहरुलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरुको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरु सृजना गरी कृषिमा आत्मनिर्भर हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।  

२. निर्माण क्षेत्र

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात नेपालको संविधान, २०७२ जारी भए पछि तीनै तहको सरकारहरुको गठन भई देशको निर्माणको युगमा प्रवेश गरेको छ । निर्माण क्षेत्रमा १३.८ प्रतिशत ब्यक्तिहरु रोजगारी प्राप्त गरेको देखिन्छ । देशभित्र राष्ट्रिय महत्वका योजनाहरु, ठूलठूला जलविद्युत आयोजनाहरु, रेलमार्ग, द्रुतमार्ग, एयरपोर्ट लगायत अन्य विभिन्न निजी तथा सार्वजनिक निर्माण कार्यहरुको साथसाथै तिनै तहका सरकारहरुबाट सञ्चालित अन्य विकास निर्माणका गतिविधिहरु तीब्र रुपमा भईरहेको देखिन्छ । निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गर्ने ईलेक्ट्रिसीयन, प्लम्बर, पेन्टर, कारपेन्टर, मैसन लगायत अन्य श्रमिक मजदुरहरु अधिकांश भारतीय वा तेस्रो मुलुकका रहेका छन् । यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरु अदक्ष कामदारको रुपमा काम गर्ने गर्दछन् । यस क्षेत्रमा रोजगारीका सम्भावनाहरु प्रशस्त रहेकोले बजारको मागको आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गरी अन्य मुलुकका श्रमिक मजदुरहरुलाई विस्थापित गर्दै जानु पर्ने देखिन्छ ।

३. उद्योग तथा व्यवसाय क्षेत्र

उद्योग क्षेत्रमा १७.५ प्रतिशतले रोजगारी पाएको देखिन्छ । कुल राष्ट्रिय रोजगारीमा उद्योग क्षेत्रको योगदान ८.१ प्रतिशत रहेको छ । नेपालमा बढदै गएको युवा बेरोजगारीमा कमी ल्याउन कम्तीमा आउँदो एक दशकसम्म कृषि, वन, पर्यटनमा आधारित उद्योगधन्दा कलकारखाना तथा व्यापार व्यवसायको माध्यमबाट थप रोजगारी सृजना गर्न विशेष जोड दिनु पर्ने देखिन्छ । अदक्ष तथा सीप नभएका बेरोजगार युवाहरुलाई सीपमूलक तालिमको माध्यमबाट दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरी उद्योग तथा कलकारखानाहरुमा आपूर्ति गरी औधोगिक उत्पादनमा वृद्धि गर्नुको साथसाथै लघु, घरेलु तथा साना उद्योगहरुको माध्यमबाट स्वरोजगारी वा रोजगारी बढ्ने गरी निर्यातयोग्य वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता, विविधिकरण, उत्पादकत्व अभिवृद्धि गरी स्थानीय श्रम, सीप, स्रोत र साधनको अधिकतम् परिचालन तथा उपयोग हुने गरी स्वदेशभित्रै थप रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने देखिन्छ ।

४. उद्यमशिलता

उद्यमशीलतालाई उत्पादनको महत्वपूर्ण साधनको रुपमा हेरिन्छ । स्थानीय स्तर देखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न उद्यमी तथा उद्यमशीलताको विकास अपरिहार्य रहेको छ । कोरोना महामारीका कारण रोजगार विहिन भई बेरोजगारहरुको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । बढदो बेरोजगारी समस्यालाई सम्बोधन गर्न तथा बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्न राज्यका तीनै तहका सरकारहरुले लागत साझेदारीमा स्वरोजगार हुन चाहने तथा रोजगारी गुमाउने बेरोजगार युवाहरुलाई लक्षित गरी स्थानीय स्तरमा उपलब्ध श्रम, श्रोत साधन, पूँजी र प्रविधिको उपलब्धतताको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न किसिमका सीपमूलक, रोजगारमूलक, व्यवसायिक तथा प्राविधिक तालिमहरुको माध्यमबाट दक्ष, सक्षम र उत्पादनशील जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्दछ । स्थानीय स्तरमा नै नयाँ नयाँ उद्यम व्यवसायको पहिचान तथा विकास र उत्पादन तथा उत्पाकत्व वृद्धि गरी रोजगारी सृजना गर्नु पर्ने देखिन्छ । उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई उत्पादनशील व्यवसायिक योजनाको आधारमा बिउँ पूँजीको रुपमा लागत साझेदारीमा अनुदान वा सहुलियत पूर्ण ऋण सुविधाको उपलब्धतताको माध्यमबाट उद्यम तथा व्यवसायको विकास गरी थप रोजगारी वा स्वरोजगारका अवसर सृजना गर्नु पर्ने देखिन्छ ।

५. पर्यटन

पर्यटनमा प्रचुर सम्भावना भएको देश हो नेपाल । नेपालको पर्यटन क्षेत्र रोजगारीका मुख्य स्रोतहरु मध्येको पनि एक हो । सन् २०१८ मा कुल ५७३००० रोजगारी प्राप्त गरेका थिए, जुन कुल रोजगारीको ८ प्रतिशत हो । नेपालको प्राकृतिक, धार्मिक, मौलिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँटहरु, वन्य जन्तु, निकुञ्ज, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरुको संरक्षण, सम्वर्द्धन र विविधीकरण गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास, प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्नु पर्नेमा ध्यान दिनु जरुरी छ ।

निश्कर्ष

नेपालको संविधानले रोजगारी र श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा समावेश गरेको छ । रोजगारीको तुलनामा युवा जनसंख्याको अनुपात तीब्र रुपमा वृद्धि हुदै गएको देखिन्छ । देशमा बढदै गरेको बेरोजगारी दर र सीमित रहेको रोजगारीको अवसर तथा विकल्पका कारण अधिकांश युवा श्रमशक्ति विदेशिन बाध्य हुने गरेको देखिन्छ । श्रम बजारको माग अनुरुपको दक्ष तथा सीपमूलक जनशक्तिको विकास गर्नु आजको मुख्य आवश्यक्ता रहेको छ । उत्पादनमूलक रोजगारी सृजना गरी मुलुकमा उपलब्ध युवा श्रमशक्तिको अधिकतम् उपयोग गरी कृषि क्षेत्रमा विद्यमान रहेका अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, व्यापार, पर्यटन, निर्माण जस्ता सेवा क्षेत्रहरुमा स्थानान्तरण गर्न सके अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा समेत सहयोग पुग्ने देखिन्छ ।

मिति २०७७ मंसिर ४ गतेका दिन प्रशासन डट कममा प्रकाशित